शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङका नागरिकले विभिन्न माग राख्दै ओलीलाई बुझाए अनुरोध पत्र

खोटाङका नागरिकले विभिन्न माग राख्दै ओलीलाई बुझाए अनुरोध पत्र

रोदिक खबर

२८, मंसिर २०८०
  • 6.9K
    SHARES
  • खोटाङका नागरिकले विभिन्न माग राख्दै ओलीलाई बुझाए अनुरोध पत्र

    झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष खोटाङका नागरिकले जिल्लाका विभिन्न समस्याका बारेमा पहल गरि दिन माग गरेका छन् । मध्यपहाडी राजमार्गबाट झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा दिक्तेल पुगेका एमाले अध्यक्ष ओलीलाई बुधबार खोटाङबासीकातर्फबाट जेष्ठ नागरिक संघ, निजी क्षेत्र, उद्योगी, व्यापारी, कृषक लगायतले अनुरोध पत्र बुझाउँदै पहल गरि दिन माग गरेका हुन् ।

    जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बाँदर आतंकका कारण पहाडबाट बसाइ सर्ने दर अधिक भएको भन्दै बाँदरबाट किसानलाई मुक्ति दिने उपाय खोज्नका लागि सहयोग गर्न माग गरेका हुन् । अनुरोध पत्रमा एक पालिका एक कृषि उपज संकलन, बिक्री तथा चिस्यान केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्न माग राखिएको छ ।

    यस्तै, अनुरोध पत्रमा मध्यपहाडी राजमार्गको जयराम हलेसी खण्डलाई मापदण्ड अनुसार फराकिलो पार्नका लागि पहल गर्न ओली समक्ष माग राखिएको छ । मध्यपहाडीको अन्य खण्ड मापदण्ड अनुसार फराकिलो बनाइए पनि जयरामदेखि हलेसी खण्ड साँघुरो अवस्थामै छाडिएकाले राजमार्गको स्टान्र्डर बमोजिम रेखाङ्कनका लागि पहल गर्न, मध्यपहाडी आसपासमा नास्पाती लगायतका फलफूलको विरुवा लगाएर हरित सडकको रुपमा विकास गर्न पहल गर्न अनुरोध पत्र बुझाएका छन् । खोटाङभित्र मध्यपहाडीको चखेवा सेखुवा सडक खण्ड भने हालसम्म अलपत्र छ । समृद्धिका लागि संकल्प यात्रा सोही अलपत्र सडक पार गर्दै भोजपुर पुगेको छ ।

    यस्तै, सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट दिक्तेल सडक खण्ड कालोपत्रेको कामलाई पूर्णता दिन, दिक्तेल आहाले–रेग्मीटार हुँदै तराइसँग जोडिने सडक निर्माणका लागि पहल गर्न, हलेसी दिक्तेल कालिका भवगती केवुलकार सञ्चालनका लागि पहल गर्न अनुरोध गरिएको छ । जिल्लाबासीले धाप्लाङघाट र बंशिलाघाटको मोटरेबल पुल तदारुकाताका साथ सम्पन्न गर्न पहल गर्न, दिक्तेल बाक्सिला, दिक्तेल खोटाङबजार, दिक्तेल मानेभञ्ज्याङ सडक कालोपत्रेका लागि पहल गर्न, रसुवा खोटाङबजार पान्धारे सडक स्तरोन्नतीका लागि आवश्यक पहल गर्न, चिसापानी वंशिलाघाट सडक स्तरोन्नतीकालागि पहल गर्न, प्रोजेक्ट बैंक निर्माण भए पनि अड्किएर बसेको बिजुले खार्पा दुवेकोल ऐसेलुखर्क सडक निर्माणका लागि पहल गर्न, हरेक पालिकामा एक कृषि उद्योग स्थापना गर्ने योजनाका लागि पहल गर्न माग राखेका छन् ।

    यस्तै, अनुरोध पत्रमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य शुभारम्भका लागि आवश्यक पहल गर्न, हलेसीलाई मुन्धुम ट्रेलको इन्ट्री पोइन्ट बनाएर तुवाचुङ जायजुम, बुईपा यलम्बर पार्क, रुपाकोट, बगरे भञ्याङ, साप्सुधाप, चखेवा, मेरुङ, केपिलासगढी हुंदै सिलुचुङसम्मलाई मुन्धुम ट्रेलमार्गको विकासका लागि पहल गर्न भनिएको छ ।

    शिक्षालाई श्रमसँग जोडेर कमाउँदै पढ्दै गर्ने कार्यक्रम ल्याउन पहल गर्न, महुरेगढी प्राविधिक शिक्षालयलाई स्तरोन्नतीका लागि पहल गर्न, दिक्तेल बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन, खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङ्मा मेडिकल कलेज स्थापनाका लागि पहल गर्न, बृहत हलेसी गुरुयोजना कार्यान्वयनमा ल्याउन, बराहपोखरी बृहत गुरुयोजना तयार गरी संरक्षण निर्माणका लागि पहल गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ । यस्तै, जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।

    प्राविधिक तथा दक्ष नागरिक तयार पार्नका लागि सहयोग गर्न ओलीलाई जनजागृति माविको आग्रह

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मास्थित जनजागृति माविले नेकपा एमालेका अध्यक्ष केपी ओली समक्ष प्राविधिक तथा दक्ष नागरिक तयार पार्ने प्राविधिक धारको विषय पठन पाठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

    एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राका क्रममा दिक्तेल पुगेका एमाले अध्यक्ष ओलीलाई बुधबार माग पत्र बुझाउँदै प्रअ पदमकुमार राईले देशको अर्थतन्त्रमा सहयोग र टेवा पुर्याउन सक्ने नागरिक तयार गर्ने विद्यालयको लक्ष्य पुरा गर्नका लागि सहयोगको याचना गरेका हुन् ।

    oli.jpg

    २०४० सालमा स्थापना गरिएको जनजागृति माविले शुभद्रा मदन (शुभम्) फाउन्डेशनको सहयोगमा व्यवहारिक, उत्पादनमुखी र जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको छ । फाउण्डेसनसँग सहकार्य भए यता विद्यालयले पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने अभ्यास गर्दैआएको छ ।

    शिक्षक सिकाई, साथी सिकाई, स्वयं सिकाई र शेयर सिकाई विधि र अभ्यासका आधारमा विद्यालयमा पठनपाठन गर्ने गरिएको प्रअ राईले अध्यक्ष ओलीलाई जानकारी गराए । शिक्षकले कक्षाकोठा र फिल्डमा सिकाउने, साथी साथीबिचमा एक आपसमा आफुले जानेको कुरा सिकाउने, पुस्तकालय, इन्टरनेट र स्वयं आफै सिक्ने तथा माथिका तीन वटै विधिबाट सिकेको कुरा कक्षा कोठामा सबै साथीहरुलाई शेयर गरेर सिक्ने सिकाउने सिकाई विधिको अभ्यास गरिरहेका छौँ, प्रअ राईले भने, व्यवहारिक कृयाकलाप गराउने, वस्तुहरु देखाउने, छुवाउने, अनुभुत गराउने र बोल्न लगाउने गरिन्छ । विद्यार्थीहरु आफै सहभागी हुने वातावरण सिर्जना गरिन्छ ।

    सुनाउ विर्सनेछु, देखाउ सम्झनेछु तर प्रत्यक्ष सहभागी गराउ सिक्नेछु भन्ने मान्यतालाई आत्मसात गरी सिकाई कृयाकलापलाई प्रयोगात्मक र व्यवहारिक रुपमा सञ्चालन गरिरहेका छौँ । कक्षा ५ सम्म पढाइ भइरहेको अवस्थामा तीन जना मात्रै विद्यार्थी बाँकी रहेपछि २०७१ सालमा अर्को विद्यालयमा मर्ज गर्ने प्रकृया अघि बढेपछि अभिभावकको आग्रहमा फाउण्डेसनले जनजागृति विद्यालय सञ्चालन गर्ने जिम्मा लिएको हो । जनजागृतिलाई हाल सामुदायिक आवासिय विद्यालयका रुपमा विकास गरिएको छ । आवासिय विद्यालयको सम्पूर्ण व्यवस्थापन फाउण्डेसनले गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०८:००:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको