खोटाङको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार सात करोड ७६ लाख नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपास्थित सहकारीको कारोबार आर्थिक वर्ष २०७९/०८० मा सात करोड ७६ लाख १४ हजार २५३ रुपैयाँ पुगेको हो । शनिबार जालपामा सम्पन्न २७ औं साधारण सभामा सहकारीले हालसम्म चार करोड ७८ लाख ९२ हजार ६९३ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ ।
जनसेवा समाज नेपाल जालपाले आयोजना गरेको साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीको शेयर पुँजी एक करोड एक लाख ८१ हजार ८५० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । हाल पाँच करोड ६३ लाख ३६ हजार ६५६ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदनमा उल्लेख छ ।
सहज र सुलभ ब्याजदरमा ऋण उपलव्ध गराएर शेयर सदस्यहरुलाई स्वावलम्बी, मितव्यायी, लगनशील एवं आत्मनिर्भर बनाउने मूल लक्ष्यका साथ स्थापना गरिएको सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १२.६५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । शेयर लाभांश वापत १२ लाख वितरण गरिएको हो । सहकारीको नन्पर्फमिङ लोन (एनपिएल) ५ प्रतिशतमुनि रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साधारण सभाले सहकारीको बार्षिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, नीति नियम परिमार्जन, बार्षिक योजना तथा कार्यक्रम, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, शेयर लाभांश बाँडफाँड, साधारणसभाको निर्णय प्रमाणीकरण समिति गठन गर्ने निर्णय अनुमोदन गरेको छ ।
चालु आर्थिक वर्ष सहकारीको एक करोड २० लाख शेयर पूँजी पुर्याउने, सहकारीको कारोबार र सदस्यहरुको सम्पूर्ण विवरण कोपोमिसमा अद्यावधिक गर्ने, व्याजदर समायोजन गर्ने, थप २० बचत समुह निर्माण गर्ने लगायतका भावी योजना पास गरिएको छ ।
यस्तै,उत्पादित कृषि उपजको उत्पादनदेखि बजारसम्म कृषकको पहुँच स्थापना गर्न कृषिउपज संकलन केन्द्र स्थापना र सञ्चालन गर्ने, खराव कर्जा कर्जा असूलीको लागि ऋणको पुनर्तालिकीकरण गर्ने, सामाजिक उत्तरदायित्वका लागि शैक्षिक छात्रबृत्ति तथा बिपन्न सहयोग कार्यक्रम र दोहोरो सदस्यता पहिचान गर्ने भावी योजना अनुमोदन गरिएको छ ।
साधारणसभा प्रमुख अतिथिका रुपमा जिल्ला सहकारी संघ, खोटाङका अध्यक्ष मिलन चाहार र विशेष अतिथिका रुपमा वडाध्यक्ष दानबहादुर राईले उद्घाटन गरेका थिए । सहकारीमा जालपा सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी र रावाबेँसी गाउँपालिका ६ हौंचुरका १११ बचत तथा ३९ वाल बचत समुहका दुई हजार २७५ शेयर सदस्य छन् । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने योजना बनाएको छ । सहकारीले रेमीट्यान्स कारोबार पनि गर्दै आएको छ ।