हलेसीमा तीन दिने आँखा शिविर सुरु, शिविरको पहिलो दिन २ सय ५१ जनाको उपचार

हलेसीमा तीन दिने आँखा शिविर सुरु, शिविरको पहिलो दिन २ सय ५१ जनाको उपचार

रोदिक खबर

६, पौष २०८०
  • 8.1K
    SHARES
  • हलेसीमा तीन दिने आँखा शिविर सुरु, शिविरको पहिलो दिन २ सय ५१ जनाको उपचार

     खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सुरु भएको छ । आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारबाट सुरु भएको हो ।

    शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका छन् । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका छन् । शिविरको पहिलो दिन २ सय ५१ जना व्यक्तिहरु उपचारका लागि आएका छन् ।

    उनिहरुको आँखा परिक्षण पश्चात औषधि उपचार, चस्मा प्रदानसँगै निःशूल्क अप्रेसन गर्ने काम धमाधम भइरहेको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । शनिबारसम्म सञ्चालन हुने शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ ।

    बिहिबार शिविरको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि तथा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताइन् । पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर वीमा गर्ने र वीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताइन् ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख राईसँगै, उपप्रमुख रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, वडा नम्बर १ का वडाध्यक्ष रुद्रकुमार राई, वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी, नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजु, नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    अघिल्लो वर्ष हलेसीमा सञ्चालन भएको आँखा शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परिक्षण गराएका थिए । जसमध्ये ७६ जनाको निःशूल्क अप्रेसन भएको थियो । यस वर्ष करीब १०० जनाको अप्रेसनमार्फत उपचार हुने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०७:३१:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको