खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा ११ हजार ७८५ रुपैयाँ बराबरको म्याद गुज्रेका सामान जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, उद्योग वाणिज्य संघ बाक्सिला लगायतका सरोकारवाला निकायले शनिबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेको थुक्पा, मसला, आँटा, डिउ, दालमोठ लगायतका उपभोग्यवस्तु जफत गरिएको हो ।
बजार अनुगमनका क्रममा ३ हजार पर्ने आँटा, २ हजार ५५० रुपैयाँको थुक्पा, २ हजार ६४० रुपैयाँको पेप्सी, ४५० रुपैयाँको पानीपुरी मसला, ४२० रुपैयाँको प्याकिङ माछा, ३०० रुपैयाँ पर्ने मिक्स मसला, २५० रुपैयाँ पर्ने एक बोत्तल जम्बु डिउ, १५० रुपैयाँको मिट मसला र र २५ रुपैयाँको दालमोठ बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानीय तहका बजारमा अनुगमनका क्रममा बाक्सिलाबजारमा अनुगमन गरिएको हो । बाक्सिलामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।
