खोटाङ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हेलिप्याडसहितको खेलमैदान निर्माण गरि दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका हुन् ।

नेपाली सेनाको श्रमदान र हलेसी तुवाचुङ नगरपालिकाको जेसिभीमार्फत लम्बाई र चौडाई ३०–३० मिटर भएको हेलिप्याडसहितको खेलमैदान निर्माण गरिएको गोरखनाथ गण मुडेका गुल्मपति सुजन गुरुङले जानकारी दिए । खेलमैदानको बुधबार हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राईले एक कार्यक्रमकाबीच उद्घाटन गरेकी हुन् ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अवधारणा अनुसार नेपाली सेना, हलेसी तुवाचुङ नगरपालिका, वडा कार्यालय धितुङ र वडा कार्यालय महादेवस्थानको संयुक्त सहकार्यमा खेलमैदान निर्माण गरिएको गुल्मपति गुरुङले बताए । यस हेलिप्याडमा नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर अवतरण गर्न सक्नेछ ।

त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउनेगरी हेलिप्याड निर्माण गरिएको गणपति प्रमुख सेनानी गुरुङले बताए ।
नेपाली सेना र नागरिकको सम्बन्ध सुमधुर गर्न तथा स्थानीय नागरिकहरुमा नेपाली सेनाप्रति सकारात्मक भावना र नेपाली सेना भनेकै जनताको साझा शक्ति हो भन्ने सन्देश दिनलाई पनि खेलमैदान निर्माण गरेका हौ, गुल्मपति गुरुङले भने । यसअघि नेपाली सेनाले दिक्तेल चखेवाभन्ज्याङ सडक अन्तर्गत चिउँरीडाँडाको पंखुखोला अघिको सडक श्रमदानमार्फत मर्मत गरेका थिए । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट (जाली) समेत उपलब्ध गराइएको गणले जनाएको छ ।