खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका शिक्षाको गुणस्तर सुधार गर्ने उपायको खोजीका लागि अन्तरक्रियात्मक कार्यक्रम गरेको गरेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्नका लागि नगरपालिकाले आइतवार शिक्षामा सुधार सम्भव छ विषयक शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
नगरभित्रका दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रअ, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रअ, व्यवस्थापन समितिका पूर्वपदाधिकारी लगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
बसाई सराई, निजी स्कुल, जन्मदर रोकथाम, वैदेसिक रोजगार लगायतका कारण सामुदायिक विद्यालय रित्तिदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायिक विद्यालयमा बस्ने वातावरण बनाउने उपायको खोजीमा जुटेको हो । विभिन्न कानुनी, प्राविधिक र भौतिक, शैक्षिक तथा अन्य समस्याहरू छन् । ती समस्या तथा कमी कमजोरीहरू स्थानीय सरकार, जनप्रतिनिधि, सरोकार निकाय, शिक्षक, अभिभावक र विद्यार्थीहरु हातेमालो गर्दै अघि बढ्नुपर्ने कार्यक्रममा सहभागीहरुले राय राखेका थिए । शैक्षिक वहसको माध्यमबाट नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव संकलन गरेको छ ।
कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्न लायक बनाइनुपर्ने सुझाव दिएका छन् ।
यस्तै, शिक्षक, जनप्रतिनिधि लगायतको छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रवन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागु गर्नुपर्ने लगायतका सुझाव आएको छ । सुझाव राय टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यवहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रअ लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।
तीन सदस्यीय समितिलाई कार्यक्रममा व्यक्त गरिएका सुझावको आधारमा पाँच दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताए । सामुदायिक विद्यालयमा राज्यको करोडौं लगानी छ । उच्च शिक्षा हाँसिल गरेका र तालिम प्राप्त शिक्षकहरुको व्यवस्था छ । तर, विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ ।
कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने संकेत देखिन थालेका छन् । तह अनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन । यिनै समस्या हल गर्ने प्रयास स्वरुप शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरिएको नगरप्रमुख भट्टराईले बताए ।
सामुदायिक विद्यालयमा कैयौं समस्याहरु देखा परिरहेका छन् । न काखमा बच्चा छ न कोखमा । पाँच सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ, भट्टराईले भने, शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्छौँ । प्राप्त राय सुझाव संकलन गरेर कार्यान्वयनमा जान्छौैँ । तीन सदस्यीय टिपोट समितिले बुझाएको प्रतिबेदनको आधारमा पुःन पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव संकलन गरिने नगरपालिकाले जनाएको छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए ।