खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले याक्थुङहाङ/साप/सिरुवा जेभीका शिव चौंलागाई विरुद्ध गृह–मन्त्रालयमा उजुरी दिएका छन् ।
ठेकेदारका लागि हार्डवेयर पसलबाट उधारोमा सामान निकाल्न जमानत बसेका नगरप्रमुख भट्टराईले भुक्तानी नगरेपछि याक्थुङहाङ/साप/सिरुवा जेभीका चौंलागाई विरुद्ध सोमवार गृह–मन्त्रालयमा उजुरी दिएका हुन् । नगरप्रमुख भट्टराईले ठेकेदार चौंलागाईलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
नगरप्रमुख भट्टराईले १० दिनभित्र भुक्तानी हुनेगरी गत असार ९ गते ठेकेदारको तर्फबाट विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिको नाममा १५ लाखको आफ्नै खाताको चेक काटिदिएर जमानी बसेका थिए । तर, ठेकेदारले ६ महिना बित्दा पनि भुक्तानी नदिएपछि विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि पनि पुस २२ गते प्रशासन पुगेको हो । ठेकेदारले जम्मा १७ लाख ५० हजारको निर्माण सामग्री लगेका थिए । त्यसमध्ये ८ लाख मात्र भुक्तानी भएको विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिले जनाएको छ ।
सडक ढलानको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय पटक–पटक नगरपालिका घेराउ गर्न पुगेका थिए । त्यो बेला ठेकेदारले निर्माण सामग्री खरिद गर्ने पैसा समेत नभएको भनेपछि नगरप्रमुख भट्टराईले उधारोमा सामान निकाल्न सहयोग गरेका थिए ।
नगरबासीले नगर घेराउ गर्न थालेपछि ठेकेदारलाई तत्काल काम सुरु गर्न प्रेसर ग¥यौं तर ठेकेदारले काम गर्नका लागि चाहिने सामान निकाल्ने खर्च छैन, उधारोमा सामान निकाल्न सहयोग गर्न आग्रह ग¥यो,” भट्टराईले भने, “हार्डवेयर व्यवसायी उधारोमा सामान दिन तयार भए तर नगरको चेक मागे । काम रोकिएको छ, मान्छे हिँड्ने अवस्था छैन वर्षाको बेला । दिन्छहोला भनेर आफ्नै नामको चेक काटेर दिएँ । अवरुद्ध काम सुचारु हुन्छ भने किन सहयोग नगर्ने भन्ने ठानेको थिएँ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले पनि सोमबार गृह–मन्त्रालयलाई पत्राचार गर्दै चौंलागाईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको याक्थुङहाङ/साप/सिरुवाले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक डिबिएसटी कालोपत्रेको सम्झौता गरेको थियो । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सक्नेगरी सडक कालोपत्रेको ठेक्का लागेको थियो । तर कालोपत्रेको काम अलपत्र छ ।
दिक्तेल–आहाले सडक दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुनेछ । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर) सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ । आयोजना तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले २०७५ मंसिर १ गते शिलान्यास गरेका थिए ।