शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आन्दोलनको तयारीमा यातायात मजदुर

आन्दोलनको तयारीमा यातायात मजदुर

रोदिक खबर

२६, पौष २०८०
  • 7.2K
    SHARES
  • आन्दोलनको तयारीमा यातायात मजदुर

    जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले यदी सरकार एकलौटी अघिबढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेकोछ ।

    संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आउनु भएका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको भएपनि सरकारले सरोकारवालाहरुसंग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले यसको खबरदारी देशभरीका यातायात मजदुरहरुले गर्नुपर्ने संगठनका अध्यक्ष राईले बताए ।

    b.jpg

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारलाई लिखित रुपमा कानुन संशोधनका लागि सरकारलाई १६ सुत्रिय सुझाव प्रस्तुत गरेको बताउदै अध्यक्ष राईले भने सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उप दफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।

    त्यस्तै “मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३” लाई संशोधन गर्दै मजदुर बीमा, तेस्रो पक्ष बीमा र यात्रु बीमा रकमलाई समय सापेक्ष बृद्धि गर्नु पर्ने, साना सवारीसाधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठुला सवारीसाधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुनी संशोधन गरिनु पर्ने राईले बताए ।

    ऐनमा सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी प्रावधानमा ई रिक्सा चालकहरुका लागि विशेष व्यवस्था गर्दै ठुला तथा मझौला सवारी चालक अनुमतिपत्र सिधै पाउने व्यवस्था गर्दै सडक दुर्घटनामा घाईते तथा अङ्गभङ्ग भएका श्रमिक तथा सर्वसाधारण जनताको राहतका लागि कोषको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरु सरकारलाई सुझाव दिइसकिएको भएपनि ऐन निर्माण भएर सदनमा पेश गर्ने अवस्थामा समेत सरोकारवालाहरुसंग सरकारले छलफलमा नराखेको राईले बताए ।

    सुझाव नसेमेटी कानुन पारित गरिए देशव्यापी आन्दोलन गरिने बताउनुहुँदै सम्पूर्ण यातायात मजदुरहरुलाई तयारी अवस्थामा रहन सकेत अध्यक्ष राईले आह्वान गरेका छन् ।

    कार्यशालाले मधेश प्रदेशको आठवटै जिल्लाहरुमा सरकारको षडयन्त्रको बारेमा खबरदारी सभाहरु गर्ने, संगठनको सदस्याता विस्तारका लागि बसपार्कहरुमा शिविर अभियान सञ्चालन गर्ने, संगठनका नियमित कार्यक्रम गर्ने र मजदुरहरुको कार्यथलोमा सचेतना अभियानहरु सञ्चालन गर्ने योजना पास गरेकोछ ।

    कार्यशालामा संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साह, जनकपुरका संस्थापक नेता असर्फि झा, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष रामनरेश सिंह लगायतका नेताहरुले कार्यशालाको सहजीकरण गरेका थिए । संगठनका प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव मनोज झाले गरेका थिए ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - २१:१५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको