खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले पार्टीलाई न्यूनतम नैतिकता, मूल्य र मान्यतायुक्त बनाउन नसकिए विसर्जनको अवस्था आउने बताएका छन् ।
सोमबार खोटाङको दिक्तेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा नेता राईले पछिल्लो समय पार्टीभित्र पदका लागि भइरहेको लडाईले निराशाजनक अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् ।
हाल नेतृत्व गरिरहेका नेताका लागि पार्टीलाई ठोस सिद्धान्त र विचार सहित समाजवादमा पुग्ने कार्यक्रम बनाउने अन्तिम मौका भएको नेता राईले औंल्याएका छन् । नेकपालाई वैचारिक र सैद्धान्तिक रुपमा स्पष्ट एबं न्यूनतम नैतिकता, संस्कार संस्कृति, मूल्य मान्यतायुक्त राजनीति गर्ने पार्टीका रुपमा नउभ्याउने हो भने मुलुकले राजनैतिक निकास पाउने सम्भावना छैन ।
यो गर्न सकिएन भने कम्यूनिष्ट पार्टीको विसर्जन त हुँदै हो, खरानी हुन्छ,’ पूर्वसांसद समेत रहेका राईले भने, ‘अहिलेको पुस्ताको नेतृत्व गरिरहेका नेताको लागि यो अन्तिम मौका हो । नत्र सदाका लागि विसर्जन हुने खतरा छ । इतिहासमा कलंकित मात्र होइन भावी पुस्ताले लाञ्छित गरिरहने छन् ।
यो दोषबाट बच्नका लागि पार्टीको शुद्धिकरण, संगठन सुदृढिकरण, सिद्धान्त र विचार सहितको कार्यक्रमको पुनःनिर्माणमा लाग्न आवश्यक छ ।’
हाल नेकपामा पुग्ने गन्तव्य र दृढ इच्छाशक्तिको अभाव देखिएको नेता राईले बताए । उनले पार्टीभित्रको कमजोरीले मुलुकमा आफ्नै साख गिराउने काम भएको उल्लेख गरे ।
‘अहिले हाम्रो पार्टीको कमजोरीको कारणले मुलुकमा साख गिराउने काम भएको छ,’ राईले भने, ‘दुई तिहाइ सरकारको हालत त यस्तो छ अरुको के हालत होला भन्ने छाप सर्वसाधारणमा पर्दै गएको छ ।’ नेता राईले त्रिधार्मिकस्थल हलेसीमा धार्मिक पर्यटनको विकास गर्न पहल भइरहेको जानकारी दिए ।