खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको खेलमैदानमा बुधबारबाट २८ स्वर्णका लागि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरेर उद्टघाटन गरेका थिए।
तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प र भलिबलमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगितामा गाउँपालिकाभरीका आठवटा माविको सहभागिता छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको सात लाखसहित आठ लाखमा प्रतियोगिता सम्पन्न गरिने शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत सुरेन्द्र खनालले जानकारी दिए । उक्त बजेट पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेर जिल्ला र प्रदेश स्तरीयसम्म खर्च गरिनेछ ।
शिक्षा अधिकृत खनालका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोश्रो हुने विद्यालयले ४० हजार र तेश्रो हुने विद्यालयले ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप प्रति विद्यालय २५ हजार र सहभागिताको प्रमाणपत्र दिईनेछ ।
मार्च पासमा उत्कृष्ट हुने विद्यालय र अनुशासित विद्यालयलाई ५–५ हजारसहित प्रमाणपत्र दिईनेछ । एथलेटिक्स र भलिबलमा उत्कृष्ट हुने छात्रछात्रालाई ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिता ५ माघमा सकिनेछ । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ ।
जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन । गतवर्ष भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिका प्रथम भएको थियो । यसवर्ष पनि जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान ओगट्ने चाहाना रहेको शिक्षा अधिकृत खनालले बताए ।
यसैबिच, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै पृथ्वी उच्च मावि बाक्सिलाको प्राङगणमा दुईदिने पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम राखिएको छ ।