खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङका गणेश बस्नेतको घरमा आगलागी भएको छ।
बुधबार (आज) अपरान्ह ४ बजे अचानक आगलागी हुँदा घरभित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा जलि नष्ट हुँदा अन्दाजी ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र चौपायामा क्षति पुगेको छैन।
आगोलाई प्रहरी र स्थानीयले साँझ साँढे ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिएको थियो। यस्तै, आजै आगलागीबाट हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ईन्द्र बहादुर श्रेष्ठको ढुंगा माटोले बनेको टिनको छानो भएको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
आगलागीबाट श्रेष्ठको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामाग्री जल्दा एक लाख बरारबको क्षति भएको छ। श्रेष्ठको घर छेउमा रहेको कुखुराको खोरमा सुलसुले किरा मार्न बालेको आगो अचानक घरमा सल्केको थियो । मध्यान्ह १२ बजे सल्केको आगोलाई प्रहरी र स्थानीयले साँढे १ बजेर २० मिनेटमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट मानवीय र पशु चौपयामा क्षति पुगेको छैन।