कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन

कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन

रोदिक खबर

१८, माघ २०८०
  • 6.3K
    SHARES
  • कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि सुझाव सङ्कलन

    खोटाङ । कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणापत्र तयारी गर्नका लागि खोटाङमा सुझाव सङ्कलन गरिएको छ । प्रदेश सरकार, प्रदेश योजना आयोग कोशी प्रदेश विराटनगरको आयोजनामा बिहीबार खोटाङको दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम गरी सुझाव सङ्कलन गरेको हो ।

    उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्यादित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नत मानव संसाधन विकास एवम् समतामूलक समाजको आधार निर्माण गर्नु, गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकास गर्नु, जलवायु अनुकूलन गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण गर्नु र सुशासनको अभिवृद्धि गर्नका लागि कोशी प्रदेशका १४ वटै जिल्लाबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला–जिल्लामा पुगेर सुझाव सङ्कलन शुरु गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले जानकारी दिए ।

    कार्यक्रममा निमित्त प्रदेश सचिव कमलबहादुर थापाले छलफलका लागि कोशी प्रदेशको अवस्थिति समेटिएको कार्यपत्र प्रस्तुतगरेका थिए । सहयोगी संस्था एनआईयुआरएसको सहयोगमा आयोजित सुझाव सङ्कलन कार्यक्रमका सहभागी वक्ताहरुले यसअघि जिल्लाबाट पठाइएको सुझाव प्रदेश सरकारबाट कार्यान्वयन नभएको बताएका छन् । प्रदेश सरकारले अब बनाउने आवधिक योजनामा जनस्तरका सुझावलाई समेत समेटेर आवधिक योजना निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

    कार्यक्रममा जेष्ठ नागरिक समाज खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले प्रदेश सरकारले आवधिक योजना बनाउँदा बाँदर नियन्त्रण गर्ने उपायसमेत समेटेर बनाउनुपर्नेमा जोड दिए। “बाँदरका कारण कृषकहरुले खेती गर्ने अवस्था छैन । यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउनुप¥यो । बाँदर नियन्त्रण गर्न हरेक स्थानीय तहमा कृषि सैनिक गठन गर्नुपर्छ । प्र

    देशले बनाउने आवधिक योजना हाम्रै लागि हो । बाँदर नियन्त्रण नगरेसम्म जस्तोसुकै योजना निर्माण गरेपनि हाम्रो लागि उपयुक्त हुँदैन”, उनले भने, “सरकारले गाँजा खेती गर्न प्रतिबन्ध गरेको छ । यसको प्रवद्र्धनका लागि सरकारले योजना बनाउनुप¥यो । गाँजालाई बाँदरले समेत छुदैन । हाम्रो जिल्लामा गाँजा उत्पादन राम्रो हुन्छ । यसले कृषकको आम्दानीसमेत वृद्धि हुन्छ ।”

    कार्यक्रममा शैक्षिक अभियान्ता सूर्यबहादुर राईले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई केन्द्रमा राखेर आवधिक योजना बनाउन प्रदेश सरकारलाई सुझाव दिए । “हाम्रो प्रदेशमा त्रिधार्मिकस्थल हलेसी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि यही छ । यसको प्रवद्र्धन गर्न प्रदेश सरकारले योजना बनाउनुपर्छ”, उनले भने, “पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकेमा लाखौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ । यसले प्रदेशको आर्थिक वृद्धिमा सहयोग पुग्छ । यसप्रति प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।”

    शुभम् फाउण्डेशनका कार्यकारी निर्देशसमेत रहेका राईले “शैक्षिक क्षेत्रको विकासका लागि रुपान्तरण आवश्यक भएको छ । सुधारले अब सम्भव छैन । सरकारी विद्यालयहरुलाई पूर्ण आवासीय बनाउनुपर्छ । अहिले छोराछोरी पढाउने नाममा आमाहरु शहरमा बसेका छन् । बुबाहरु खाडीमा छन् । घरमा वृद्धाअवस्थाका बाजेबजूमात्र रहेका छन् । गाउँमा कसैको मृत्यु भयो भने मलामी पाउने अवस्था छैन । यस विषयमा प्रदेश सरकार गम्भीर हुनुपर्ने अवस्था आएको छ ।”

    प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    सुझाव सङ्कलन कार्यक्रममा उठाइएका आएका सुझावहरुलाई अब बनाइने प्रदेश सरकारको आवधिक योजनामा समावेश गरिने आयोगका उपाध्यक्ष आचार्यले प्रतिवद्धता जनाएका छन् ।

    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - २२:३४:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको