खोटाङ । खोरभित्र थुनिएकी फुर्दिकु शेर्पाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्धार गरी मानसिक अस्पताल ललितपुर लगनखेलमा उपचार सुरु गराएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीका २९ वर्षीया फुर्दिकुलाई नगरपालिकाले सोमबार गाडी रिजर्भ गरेर घरबाट उद्धार गरी ललितपुरको मानसिक अस्पताल लगनखेल पुर्याएर उपचार शुरू गरेको नगरप्रमुख तीर्थराज भट्टराईलले जानकारी दिए ।
नगरको सहयोगमा बुवा पेमाछेतर शेर्पा र बहिनी एन्जिना शेर्पा ललितपुर लागेका थिए ।
राष्ट्रिय महिला आयोग काठमाण्डौकी अध्यक्ष कमला पराजुली र उपाध्यक्ष बम बानियाँसँग समन्वय तथा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीको सहयोगमा पुरै निको भएसम्म निःशुल्क उपचार गर्ने वातावरण मिलाएर फुर्दिकुलाई भर्ना गरिएको दिक्तेल नगरप्रमुख भट्टराईले बताए ।
उनका लागि लाग्ने अन्य सबै खर्च नगरपालिकाले व्यहोर्ने भट्टराईको भनाई छ ।
फुर्दिकुको समाचार विभिन्न सञ्चारमाध्यममा फागुन १२ गतेदेखि आएपछि नगरपालिकाले उद्धार गरेको हो। मानसिक सन्तुलन गुमाएपछि मान्छे देख्दा झनक्क सिराउने, आक्रमण गर्ने, गालीबेइज्ज बोल्ने, बेठेगान तरिकाले हिँड्ने लगायतका समस्या देखिएपछि फुर्दिकुलाई परिवारले गत माघ १६ गतेदेखि आँगनमा काठको खोर बनाएर राखेको थियो।