खोटाङ । खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलबाट काठमाण्डौसम्मको हवाई उडान तालिका परिवर्तन भएको छ । चैत १० गते शनिबारबाट लागू हुनेगरी प्रत्येक हप्ताको शनिबार र मंगलबार काठमाडौ– खानीडाँडा–काठमाण्डौ उडान तालिका परिवर्तन भएको हो ।
खानीडाँडाबाट काठमाण्डौका लागि एकतर्फी प्रतिव्यक्ति ६ हजार ५०० र काठमाण्डौबाट खानीडाँडाका लागि एकतर्फी प्रतिव्यक्ति ६ हजार ७०० भाडादर कायम गरिएको विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्र कसजुले जानकारी दिए c काठमाण्डौ–खानीडाँडा–काठमाण्डौ यात्राका लागि नेपाल एयरलाइन्सको वेभसाइड र मोवाईलको प्लेस्टोरमा नेपाल एयरलाइन्सको एप्स डाउनलोड गरी हवाई टिकट अनलाईनबाटै खरीद गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि शुक्रबार र मंगलबार काठमाडौ–खानीडाँडा–काठमाण्डौ उडान हुँदै आएको थियो । खोटाङकै अर्को थामखर्क विमानस्थलमा बुधबार र शनिबार काठमाण्डौ–थामखर्क उडान हुँदै आएको छ ।
खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको सानो ट्वीनेटर विमानले उडान गर्दै आएको छ । लामिडाँडा विमानस्थलमा कालोपत्रेपछि उडान तथा अवतरण ठप्प छ ।