खोटाङ । खोटाङमा आगलागीको उच्च जोखिममा रहेको दिक्तेलबजारमा अग्नी नियन्त्रण यन्त्र जडान भएका स्थानहरुमा फायर हाइड्रेन्ट पाईप स्थानीयलाई वितरण तथा फायर हाइड्रेन्ट गेटबल्भ परिक्षण गरिएको छ ।
रम्बाखोला, माझखोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको सहकार्यमा शहरी खानेपानी आयोजना क्षेत्रधिकारभित्र रहेको अग्नी नियन्त्रण यन्त्र जडान भएको स्थानहरुमा शनिवार फायर हाइड्रेट पाईप सो क्षेत्रका स्थानीयलाई वितरण तथा परिक्षण गरिएको हो ।

दिक्तेलबजारका जडान गरिएका दिक्तेलको रत्नपार्क, संगमपार्क, भानुचौक, हाटडाँडा लगायतका स्थानहरुमा पुगेर स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई फायर हाइड्रेट पाईप प्रयोग गर्ने विधिका बारेमा परिक्षण गरिएको रम्बाखोला, माझखोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले जानकारी दिए ।
दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी बजारका ११ स्थानमा फायर हाइड्रेट गेटबल्भ जडान गरिएको छ । खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेट बल्भ जडान गरेर करिब ३०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्नेगरी दिक्तेल बजारमा हाइट्रेन्ट गेट बल्भ जडान गरिएको हो ।

साँघुरो सडक, जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेलबजारमा वर्षेनी आगलागीका घटना हुँदा करोडौको क्षति हुने गरेको छ । विशेष किसिमको पाइप जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भमार्फत करीब १० मिनेटमै एउटा दमकल (बारुण यन्त्र) मा पानी भर्न सकिने गरी सञ्चालनमा ल्याइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलबजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट बल्भ परिक्षणसँगै स्थानीयवासीलाई प्रयोग गर्ने विधिका वारेमा पनि सिकाईएको नगरप्रमुख भट्टराईले बताए ।

दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ चैत–१४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम शुरु गरिएको थियो । सोही खानेपानी आयोजना अन्तरगत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नी नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट बल्भ बनाइएको हो । नेपाल सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा आयोजनाको काम सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोशीले बताए ।
१५ वडा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र समेत रहेको दिक्तेलबजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ २२ करोड ५५ लाख ५८ हजार लागतमा निर्माण कार्य सम्पन्न गरिएको खानेपानी आयोजना एक वर्ष अघिदेखि सञ्चालन रहेको छ ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, गोरखनाथ गण मुढे व्यारेकका सेनानी ध्रुव कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, राष्ट्रिय अनुसन्धान अधिकृत नृत्यानन्द ढुङ्गाना, डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्य लगायतको उपस्थिति रहेको थियो ।