शुक्रवार, भाद्र २६ गते २०८३

चित्रकार राई र कवि बानियाँलाई टेम्के तुवाचुङ पुरस्कार

चित्रकार राई र कवि बानियाँलाई टेम्के तुवाचुङ पुरस्कार

रोदिक खबर

१०, चैत्र २०८०
  • 14.4K
    SHARES
  • चित्रकार राई र कवि बानियाँलाई टेम्के तुवाचुङ पुरस्कार

    खोटाङ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले चित्रकार सन्तोष राई ‘सन्जोस’ र कवि बम बानियाँलाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ ।

    प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका चित्रकार राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७९/०८०’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७७÷०७८’ प्रदान गरेको हो ।

    छैठौं वार्षिकोत्सवको अवसरमा दिक्तेलको मुढेस्थित मुन्धुम रिसोर्टमा शनिबार कार्यक्रम गर्दै प्रतिष्ठानले दुई प्रतिभालाई जनही ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।

    ललितकलामा उच्च शिक्षा हासिल गर्दै खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा राई तथा साहित्यका माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै बानियाँलाई पुरस्कृत गरिएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए ।

    प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले दुई प्रतिभालाई ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

    ललितकलामा एमफिल गरिरहेका चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेसनमा कला प्रशिक्षकका रुपमा कार्यरत छन् ।

    बानियाँका २०६८ सालमा ‘जागै छन् शव्दहरु’ र २०७३ सालमा ‘मान्ते जोत्ने शहर’ कविता संग्रह प्रकाशित छन् ।

    बानियाँलाई अघिल्लो वर्ष प्रदान गर्ने भनिएको पुरस्कार यस वर्ष प्रदान गरिएको हो । पुरस्कार प्रदान कार्यक्रममा जिल्ला तथा श्रष्टा पदयात्राका श्रष्टाहरुले आपसमा सिर्जना सुने/सुनाएका थिए । साईलो कला केन्द्रका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याउने उत्कृष्ट एक प्रतिभालाई छनौट गरेर हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको छ ।

    यसअघि २०७२ मा कबि चन्द्र रानोहँछा, २०७३ मा सितोरियो कराते खेलाडी सञ्जयकुमार राई, २०७४ मा गायीका राधा राई र २०७५ मा मुर्तीकार रोजन राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

    हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई बार्षिकरुपमा पुरस्कृत गर्दैआएको छ । हाल अक्षय कोषमा ८ लाख जम्मा भइसकेको अध्यक्ष एक्लेले बताए ।

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - १३:५२:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको