खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन आर्थिक वर्षभित्र ३९ जना क्षयरोगका बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा नगरको स्वास्थ्य शाखाले आईतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म ३९ जना क्षयरोगका बिरामी भेटिएको जानकारी दिइएको हो ।
नगरका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा ११ जना, आर्थिक वर्ष २०७९/०८० मा १८ जना र चालु आर्थिक वर्ष १० जना क्षयरोगी भेटिएका छन् । क्षयरोगको उपचारमा हेलचक्र्याइँ गरेका कारण आर्थिक वर्ष २०७९/०८० मा नगरका एक बिरामीको मृत्यु भएको थियो ।
औषधि उपचार गरेपछि अधिकांश बिरामी भने निको भइसकेका छन् । कतिपय बिरामीले अहिले पनि क्षयरोग विरुद्धको औषधि सेवन गरिरहेका छन् । क्षयरोग लागेका बिरामीले कम्तीमा ६ महिनासम्म नियमित औषधि सेवन गरेपछि निको हुने जनस्वास्थ्य निरीक्षक आचार्यले बताए ।
क्षयरोग भएका बिरामीलाई नियमित उपचार गराउन र औषधि उपचार गर्न पैसा लाग्दैन । नगरका सबै १५ वडाको स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधि निःशुल्क वितरणको व्यवस्था छ । नगरमा सुरु भयो क्षयरोग मुक्त नेपाल अभियान क्षयरोगसँग लड्का लागि दिक्तेल रुपाकोट रुपाकोट मझुवागढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान सुरु गरिएको छ ।
क्षयरोग विरुद्धको लडाईलाई साकार पार्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको बृहत राष्ट्रिय रणनीति योजना अन्तरगत मुलुकभरीका १२५ स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षदेखि क्षयरोग मुक्त नेपाल अभियान सुरु गरिएको हो ।
क्षयरोग मुक्त नेपाल अभियान अन्तरगत क्षयरोगमुक्त नगर निर्माणको लागि नगर स्तरिय समिति गठन गरिसकिएको छ । यस्तै, वडा स्तरिय समिति गठन, सुक्ष्म योजना निर्माण र खकारको नमूना परीक्षण संकलनको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
हालसम्म नुनथला र सोल्मामा वडा स्तरिय समिति गठन, सुक्ष्म योजना निर्माण तथा खकारको नमूना संकलन भइसकेको छ । नुनथलामा २२ जना र सोल्मामा ५ जनाको खकारको नमूना संकलन गरिसकिएको क्षयरोग मुक्त नेपाल अभियान पालिका कोअर्डिनेटर बिमल अधिकारीले बताए ।
नगरपालिकाको निर्मलीडाँडा, पाथेका, बुईपा स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा क्षयरोगको निःशुल्क जाँचको व्यवस्था छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रिय रणनीति योजना तयार पारेको छ कार्यक्रममा वडाध्यक्ष नवराज राई, दिनेशकुमार घिमिरे, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।