एसइई परीक्षाको तयारी पूरा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै

एसइई परीक्षाको तयारी पूरा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै

रोदिक खबर

१४, चैत्र २०८०
  • 8.7K
    SHARES
  • एसइई परीक्षाको तयारी पूरा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै

    भक्तपुर — बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्‍याइएको जानकारी दिए । उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे । 'भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।

    भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु,' शर्माले भने, 'साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।' उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

    एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

    परीक्षा दिने पाँच लाख बढी बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

    उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

    उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चार जना छन् । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    जापानमा एक परीक्षा केन्द्र यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पुर्‍याएको छ ।

    बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए ।

    उनका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ । उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताए ।

    परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - १८:१८:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको