खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया गरिएको छ । पाठेघर खस्ने समस्या कारण कष्टप्रद दिनचर्या विताइरहेका बिरामी महिलालाई परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली लगेर शल्यक्रिया गरिएको हो । पाठेघर खस्ने समस्या भएका १६ जना बिरामीलाई अस्पताल लगिएकोमा १३ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाका महिला विकास निरिक्षक ओमसरा राईले बताईन् ।
पाठेघर खसेका बिरामीमध्ये दुई जनाको औषधि सेवन गर्दा रोग निको हुने डाक्टरको सल्लाह अनुसार शल्यक्रिया गर्न नपरेको हो । यस्तै, एक बिरामीको भने दीर्घ रोगको कारण पाठेघर खस्ने समस्याको शल्यक्रिया गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिरमार्फत पहिचान गरिएका पाठेघर खसेका महिलालाई सम्पूर्ण औषधि उपचार, रगत, दिसापिसाव, इको, इसिजी, एक्सरे जस्ता परिक्षण, बिरामी र बिरामीको कुरुवालाई आउने जाने, खाने र बस्ने व्यवस्था सहित उपचारमा लगेको थियो । पाठेघरको बिरामी भएका महिलालाई गाउँपालिकाको उपाध्यक्षसँग कार्यक्रम अन्तरगत निःशुल्क उपचारका लागि गत चैत ५ गते गाडी व्यवस्था गरेर काठमाडौं पुर्याइएको थियो ।
पाठेघरको समस्या भएका महिलाको पहिचान गरेर उपचार व्यवस्था मिलाउने तथा पाठेघरको समस्या हुन नदिन सचेत गराउने लक्ष्यका साथ गाउँपालिकाले गत माघ ७ गतेदेखि माघ १५ गतेसम्म वडा वडामा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर आयोजना गरेको थियो ।
उपाध्यक्षसँग कार्यक्रम अन्तर्गत पहिलो चरणमा सरोकारवाला संस्था र सम्बन्धित व्यक्तिसँग अन्तरक्रिया, दोश्रो चरणमा प्रजनन रुग्नता सम्बन्धी शिविर, पाठेघरको जाँच, रिङ प्रेसरी राख्ने र शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान गरेपछि तेश्रो चरणमा सफल शल्यक्रिया गरिएको हो । पाठेघरको समस्या भएका महिलाको अप्रेसनका लागि गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, सिनियर अनमी निरिक्षक चन्द्रमाया राई, महिला विकास निरिक्षक राई लगायत काठमाडौं पुगेका थिए ।