शुक्रवार, भाद्र २६ गते २०८३

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१

कविता प्रतियोगितामा भाग लिने प्रतियोगीले वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने

कविता प्रतियोगितामा भाग लिने प्रतियोगीले वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने

रोदिक खबर

१७, बैशाख २०८१
  • 6.0K
    SHARES
  • कविता प्रतियोगितामा भाग लिने प्रतियोगीले वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने

    खोटाङ। खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत खुला राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुने प्रतियोगीले यही वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वैशाख–३१ गतेदेखि जेठ–१० गतेसम्म सञ्चालन गर्न लागेको बृहत् महोत्सव अन्तरगत जेठ–३ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन हुँदैछ । साहित्य विधातर्फ आयोजना गर्न लागिएको खुला राष्ट्रिय कविता प्रतियोगिताका लागि प्रतियोगीले देवनागरी लिपिमा रचना बुझाउनुपर्ने सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगेन राई ‘एक्ले’ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

    “प्रतियोगिताका लागि साहित्यकार रामबिक्रम थापाको संयोजकतत्वमा वेदीकुमार राई र बम बानियाँलाई सदस्य राखेर निर्णायक मण्डल गठन गरिएको छ । प्रतियोगीका लागि ५५५ प्रवेश शुल्क निर्धारण गरिएको छ”, राइले भने, “प्रतियोगीले देवनागरी लिपिमा लेखिएका रचना बुझाउनुपर्नेछ ।

    प्रतियोगीले बुझाएका कविता हेरेर तथा प्रतियोगीलाई वाचन गराएर विजेता छनोट गर्ने निर्णय गरिएको छ ।” प्रतियोगीले आफ्नो रचना ईमेल तथा ह्वाट्स एपमार्फत उपलब्ध गराउन सक्ने सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले सोमबार मुडेस्थित मुन्दुम रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

    प्रतियोगीले निर्णायक मण्डलका सदस्य वेदीकुमार राईको मोबाइल नं. ९८४२९३२७९० तथा ईमेल ठेगाना raibedi42@gmail.com मा आफ्नो रचना उपलब्ध गराउन सक्ने जनाइएको छ ।

    राष्ट्रिय कविता प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थान हाँसिल गर्ने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने कविता प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिता समापन कार्यक्रममा सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठानले साहित्यकार जसराज किरातीलाई नगद ११ हजार १११ सहित सम्मान गर्ने जनाएको छ । यस्तै, मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पाखरेलले जोसमणि सन्तदर्शन सम्बन्धी दुईवटा कार्यपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    चन्दा संकलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब ५२ लाख खर्च हुने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

    खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - २२:३७:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको