विराटनगर । कोशी प्रदेश सरकार कुनै पनि हालतमा परिवर्तन नहुने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । संविधानले स्थायी सरकारको परिकल्पना गरेको र अन्तिम धारा अनुसार आफू मुख्यमन्त्री बनेकाले अब सरकार परिवर्तन नहुने मूख्यमन्त्री कार्कीको दाबी छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको तेस्रो अधिवेशन तथा मिडिया सम्मेलनको विराटनगरमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धारा ६७ (५) अनुसार आफू मूख्यमन्त्री बनेकाले आफू नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरे ।
देशमा स्थायी सरकार भएनन्, राजनैतिक दल र संसदीय व्यवस्थाप्रति जनताको वितृष्णा बढेकाले नै नयाँ संविधानमा स्थायी सरकारको परिकल्पना गरेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधिमा जान रोक्नका लागि नै आफूले दलीय निर्देशन तोडेर मुख्यमन्त्रीको बागडोर सम्हालेको बताए ।
मुख्यमन्त्री कार्कीले माओवादीतर्फ इंगित गर्दै रगतले लेखिएको संविधानको आफैले उल्लंघन गरेर आम सहिदको अपमान नगर्न आग्रह गरे ।
उनले भने ‘हामी सबैसँगै आन्दोलनमा थियौं, कोही सडकमा थिए त कोही जंगलमा । यो संविधान रातो रगतले लेखिएको छ । रगत सेलाएपछि कालो हुन्छ । अहिले संविधान त्यही कालो अक्षर लेखिएको हो । तर, केही साथीहरुले सहिदको बलिदानीको व्यापार गर्दैछन् ।’
कोशीको सरकारलाई स्थायित्व दिन र मध्यावधि रोक्न आफूले पार्टीको निर्देशन तोडेर नेतृत्व लिएको र संविधानमा दुई बर्षसम्म विश्वासको मत लिन नपर्ने स्पष्ट व्यवस्था गरेपनि केही दल र तिनका आसेपासेहरु कानूनको छिद्रा खोजेर आफूलाई परास्त गर्न खोजिरहेपनि त्यो सफल नहुने मुख्यमन्त्री कार्कीको दाबी थियो ।
उनले आफूविरुद्ध संकल्प प्रस्ताव दर्ता भएको विषयमा घुमाउरो हिसावमा ३० दिनभित्र विश्वासको मतको सट्टा मध्यावधि घोषणा गर्ने समेत संकेत गरे ।
राजनैतिक स्थायित्व र लोकतन्त्रलाई बलियो बनाउँदै संविधानको पूर्ण कार्यान्वयनका लागि आफ्नो सरकार टिकाउनुको विकल्प नभएको दलिल पेश गरे ।