नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले पाँचजना पहिचानवादी नेतालाई सम्मान गरेको छ। महासंघको चौथो जिल्ला अधिवेशन उदघाटनका अवसरमा बुधबार समिक्षालय हल दिक्तेलमा सम्मान पत्र प्रदान गरेर खादा ओढाई सम्मान गरेका हुन्।
पहिचानको आन्दोलनमा अहोरात्र खट्ने क्रममा प्रहरीले नियन्त्रण गरी हिरासतमा समेत रहि थप पहिचानको आन्दोलनलाई मजबुत बनाउन खेलेको अतुलनीय भूमिकाको उच्च कदर गर्दै पहिचानवादी नेता गन्धमान राई, विजय राई, राजेश राई, उदिम चाम्लिङ राई र पूर्वमन्त्री गोपाल किरातीलाई सम्मान गरिएको महासंघका अध्यक्ष फुर्वा दोर्जी शेर्पाले बताए। सम्मानित पूर्व मन्त्री किराँती काम विशेषले कार्यक्रममा उपस्थित नभएको आयोजकले जनाएको छ।
पहिचानवादी नेतालाई आदिवासी जनजाति महासंघ संघीय परिषद उप– महासचिव रामकृष्ण ब्लोन तामाङ, आदिवासी जनजाति महासंघ बाग्मती प्रदेश अध्यक्ष दिलाम मोक्तान, गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ र महासंघका जिल्ला अध्यक्ष शेर्पाले अविरजात्रा गरेर पहिचानको आन्दोलनमा अझ सशक्त रुपमा लाग्न आग्रह गरेका छन्।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले गएको मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द गराएको थियो।
सोही दिनदेखि सुरु भएको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओखलढुंगाको हर्कपुर आएका थिए। ओली हर्कपुरदेखि दिक्तेल आउने क्रममा अवरोध गर्दा पहिचानवादी नेताहरु हलेसी, नुनथलाबाट पक्राउ परेका थिए।