खोटाङ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालिका झापाले उपाधि चुमेको छ ।
गाउँपालिकाको प्रायोजनमा सञ्चालन गरिएको महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराँउदै आमचोक तथा षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले भलिबल प्रतियोगिताको उपाधि चुमेको हो ।
बेस्ट टप थ्री अन्तरगत आयोजना गरिएको महिलातर्फको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिलालार्इं आमचोक गाउँपालिका भोजपुरले २७–२९ र २२–२५ मा हराएको आयोजकले जनाएको छ ।
पुरुषतर्फको प्रतियोगितामा षडानन्द नगरपालिका भोजपुरलाई दमक नगरपालिका झापाले २०–२५ र १९–२५ मा हराएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले बताए ।
महिलातर्फको प्रतियोगितामा केपिसगढी गाउँपालिका बाक्सिला दोस्रो, आयोजक ऐसेलुखर्क गाउँपालिका तेस्रो र सोही गाउँपालिकाको वडा नं. ३ ऐसेलुखर्क सान्त्वना भएका छन् ।
यस्तै, पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर दोस्रो, सोताङ गाउँपालिका सोलुखुम्बू तेस्रो र सिद्धीचरण नगरपालिका ओखलढुङ्गा सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरुपमा क्रमशः नगद दुई लाख, एक लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
विद्यागत पुरस्कारतर्फ महिला/पुरुष दुवै समूहका एक/एकजना उत्कृष्ट खेलाडीलाई नगद पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ झापाका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ ।
यस्तै, महिलातर्फ बेस्ट स्पाइकर रोशिका बराईली आमचोक, बेस्ट सेटर शिखा कोयुराई केपिलासगढी, बेस्ट ब्लकर सुनिता खत्री केपिलासगढी, बेस्ट डिफेण्डर अस्मिता राई ऐसेलुखर्क, बेस्ट सर्भर बिनिता राई केपिलासगढी तथा अनुशासित खेलाडी रोमा श्रेष्ठ आमचोक र बेस्ट प्रशिक्षक तारा मगर आमचोकलाई नगद रु तीन/तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरुषतर्फ बेस्ट स्पाइकर मनिष गौतम षडानन्द, बेस्ट सेटर राजन लिम्बू ‘मस्कान‘ झापा, बेस्ट ब्लकर कृष्ण रसाईली षडानन्द, बेस्ट डिफेण्डर भुवन केसी झापा, बेस्ट सर्भर कृष्ण तामाङ झापा, अनुशासित खेलाडी सञ्जय बस्नेत सोताङ तथा बेस्ट प्रशिक्षक सुमन रानामगर झापा घोषित भएको आयोजकले जनाएको छ ।
विजेता समूह तथा खेलाडीलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेश राजभण्डारीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए।
वैशाख–२६ गतेदेखि शुरु भएको महिला/पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका थिए ।
पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐसेलुखर्क–३ ऐसेलुखर्कको सहभागिता रहेको थियो ।
करिब १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए ।
सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।