शुक्रवार, भाद्र २६ गते २०८३

राष्ट्रिय कविता प्रतियोगिता–२०८१

किरण सिवाको ‘बिर्खे दमाईको आवाज’लाई उपाधि

किरण सिवाको ‘बिर्खे दमाईको आवाज’लाई उपाधि

रोदिक खबर

३, जेठ २०८१
  • 3.0K
    SHARES
  • किरण सिवाको ‘बिर्खे दमाईको आवाज’लाई उपाधि

    खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका कवि किरण सिवाले प्राप्त गटेका छन् ।

    त्रिधार्मिकस्थल हलेसीमा आयोजित प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि चुमेको हो ।

    आयोजकसँग दर्ता भएका कवितामध्य छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइएको प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान हात पारेको छ ।

    कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद ४० हजार,  २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

    हलेसीस्थित होटल जाम्बालामा आयोजित प्रतियोगिताका लागि धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, सुनसरीका किरण सिवाको ‘बिर्खे दमाईको आवाज’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को ‘छम्कली रोकाया’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’, भोजपुरकी शशिकला राईको ‘म यात्री मनको’ र भोजपुरकै सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ छनोटमा परेको थियो ।

    यस्तै, खोटाङका ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’, प्यासीको ‘मेरो देश’, रमिला राईको ‘मिती गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को ‘नेपालीपन’ छनोटमा परेको थियो ।

    छनोटमा परेका १६ कवितामध्ये १४ जनाले मात्र प्रत्यक्ष वाचनमा सहभागिता जनाएको निर्णायक मण्डलका संयोजक रामबिक्रम थापाले जानकारी दिए ।

    महात्सवको साहित्य विद्यातर्फ खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गर्ने जिम्मा रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले लिएको छ ।

    खुला राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुले आ–आफ्नो साहित्य सिर्जना सुन्ने/सुनाउने छन् ।

    कार्यक्रम उद्घाटनको अवसरमा वरिष्ठ कवि तथा साहित्यकार जसराज किरातीलाई रु ११ हजार १११ नगदसहित सम्मान गरिएको छ ।

    कवि तथा साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पोखरेलले जोसमणि सन्त दर्शन सम्बन्धी दुईवटा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

    चाम्लिङले प्रस्तुत गरेको कार्यपत्रमाथि एमसी सुमित र पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमाथि डा. केशव सिलवालले टिप्पणी गरेका थिए । चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक जनाएको छ ।

    खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

    एघार दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत वैशाख–३१ गते सोमबार एथ्लेटिक्स विद्याका प्रतियोगिताहरु सम्पन्न भएको छ । खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचालेका छन्।

    उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिए ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइएको थियो ।

    महोत्सव अन्तरगत जेठ–६ गते खुला गायन प्रतियोगिता तथा जेठ–८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

    दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला/पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः  एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

    दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।

    महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको छ ।

    महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवम् साँगीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १७:१२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको