खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रक्तचाप परीक्षण गर्दै ‘विश्व रक्तचाप दिवस–२०२४’ मनाइएको छ । नेपाल रेडक्रस सोसाईटी खोटाङ जिल्ला शाखा सिसिबिएच परियोजनासँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले रक्तचाप जाँच कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको रक्तचाप परीक्षण गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले रक्तचापको असर, बच्ने उपाय तथा नगरपालिकामा रक्तचापका बिरामीको अवस्थाका बारेमा तयार पारिएको कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । मानिसमा उच्च रक्तचाप हुनुको प्रमुख कारण धुमपान सेवन भएको शाखा प्रमुख आचार्यले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
अरु व्यक्तिले सेवन गरेको धुमपानका कारण ३६ प्रतिशत व्यक्तिमा रक्तचाप हुने प्रस्तुत तथ्याङ्कले देखाएको छ । १५ वडा रहेको यस नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा दश जनाको उच्च रक्तचापका कारण मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए।
नगरपालिकामा दुई हजार ४० जना नियमित औषधि सेवन गरिरहेका उच्च रक्तचापका बिरामी रहेको जनाइएको छ । उच्च रक्तचापका बिरामीलाई नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाले सबै वडामा सञ्चालित स्वास्थ्य चौकीमार्फत बिरामीलाई तीन वर्षअघिदेखि निःशुल्क औषधि उपलब्ध गराउँदै आएको हो । मानिसमा हुने उच्च रक्तचाप नियन्त्रण गर्न नियमित व्यायाम तथा खानपिनमा ध्यान दिनुपर्ने जनाइएको छ । ‘सही तरिकाले रक्तचाप मापन गर्नुस्, नियन्त्रण गर्नुस् र लामो समय बाँच्नुस्’ भन्ने नाराका साथ मनाइएको दिवस मनाइएको हो ।