खोटाङ । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजङ्घ शाहीले संसद्मा जनताको आवाज उठ्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता शाहीले संसद् जनताको आवाज उठाने ठाउँ भए पनि रेस्लिङ प्रदर्शन गर्ने ठाउँको रुपमा प्रयोग भएको बताए ।
तरुण दलका पूर्वमहामन्त्रीसमेत रहेका नेता शाहीले देशभर समस्याको रुपमा आएको सहकारीको विषयलाई समाधान गर्न काँग्रेसले संसद्मा उठाएको दाबी गरे ।
“काँग्रेसले व्यक्तिगत चाहनाले संसद अवरुद्ध गरेको हैन । देशभर समस्याको रुपमा आएको सहकारीको विषयलाई काँग्रेसले उठाएको हो । सहकारी निश्चित मान्छेको स्वार्थ पूर्ति गर्ने थलो भनेको छ”, उनले भने, “जनताको आवाज हामीले उठाउँदा सुनुवाइ भएन । यो गम्भीर विषय हो । यसप्रति संसद् तथा राजनीतिक दलहरु गम्भीर हुन आवश्यक छ ।”
काँग्रेस नेता शाहीले जिबी राईलाई वर्तमान गृहमन्त्री रवि लामिछानेले फसाएको दाबी गरे । “रवि लामिछाने अरु राजनीतिक दलका नेताभन्दा भ्रष्ट, नैतिक पतन तथा ठग देखियो ।
नैतिक पतन भएका व्यक्तिलाई सत्ता गठबन्धनका राजनीतिक दलका नेताले संरक्षण गरिरहेको छ”, उनले भने, “घण्टी पार्टीको पक्षपोषण गर्नु नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कमजोरी हो ।एमाले अध्यक्ष केपी ओली आफै लामिछानेलाई संरक्षण गर्नका लागि काँग्रेससँग भिड्न खोज्नु गम्भीर त्रुटि भएको छ ।”
देशमा पछिल्लो समय मौलाउँदै गएको भष्ट्राचार नियन्त्रण गर्न सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्नेमा नेता शाहीले जोड दिए ।
“नेपालको राजनीति इमान्दारिता, विचार र सिद्धान्तमा चलेन । राजनीतिक पार्टीहरु जनताप्रति केन्द्रित हुनुपर्छ”, उनले भने “राजनीति दलका नेताहरुले जनताको आवाज बोल्नसक्नुपर्छ । काँग्रेसले संसद्मा जनताको आवाज उठाउँदा सुनुवाइ भएको छैन ।”
प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाईको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनोदसिं ठकुरी, हिक्मत खड्का, अनुप घिमिरे तथा मन्थली नगरपालिका–१ रामेछापका वडाध्यक्ष होमप्रसाद पौडेल ‘रामहरि’को सहभागिता रहेको थियो ।
दिक्तेलस्थित होटल ईन्द्रेणीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महास खोटाका अध्यक्ष दिलीप खत्री, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सह–इन्चार्ज हरिवोल आचार्य, महासङ्घका पूर्वअध्यक्ष दमन राई, पेशागत सङ्घसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।