खोटाङ । खोटाङको दिक्तेलमा फोटोग्राफी तथा भिडियोग्राफी आधारभुत तालिम सुरु भएको छ । एभरेष्ट फिल्म एकेडेमीको प्राविधिक एवं घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा हिमालयन आइटी इन्स्टीच्युट, दिक्तेलको आयोजनामा १० दिने तालिम सुरु भएको हो । हिमालयन आइटी इन्स्टीच्युटको दिक्तेलस्थित कार्यालयमा आयोजना गरिएको तालिम शनिबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका छन् ।
तालिममा जिल्लाका पत्रकार, फोटोसँग सम्वन्धित व्यवसायी तथा डिजिटल प्लेटफर्ममा चासो राख्ने युवा सहभागी छन् । युवालाई सीप सिकाएर स्वरोजगार बनाउँदै विदेश जानबाट रोक्ने उद्धेश्यसहित तालिम आयोजना गरिएको हिमालयन आइटी इन्स्टीच्युटका सञ्चालक अजय बस्नेतले बताए ।
तालिमका लागि घरेलु तथा साना उद्योग कार्यालयले डेढ लाख रकम सहयोग गरेको छ । बढ्दो प्रविधिको विकाससँगै पत्रकार तथा फोटो स्टुडियो व्यवसायीलाई समयअनुकुल पोख्त तथा आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरिएको आयोजक हिमालय इन्स्टिच्युटका सञ्चालक अजय बस्नेतले बताए ।
“जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ । हामीले जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यवसायिक काम गर्ने वातावरण सिर्जना गर्न बिगत चार वर्षदेखि विभिन्न क्षेत्रमा तालिम दिइरहेका छौँ”, उनले भने, “यस पटक पत्रकार र फोटो स्टुडियो व्यवसायीका लागि फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत एवम् क्षमता विकास तालिमको आयोजना गरिएको छ । यसले फोटो तथा भिडियोग्राफीमै भविश्य खोज्नेहरुको लागि थोरै भएपनि सहयोग पुग्नेछ ।”
फोटो तथा भिडियोग्राफी सम्बन्धी दश दिने आधारभूत तथा क्षमता विकास तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायीगरी २५ जनाको सहभागिता रहेको छ । दिक्तेलस्थित इन्स्टिच्युटको आफ्नै कार्यालयमा आयोजना गरिएको तालिममा एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले सहजीकरण गरिरहेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, एभरेष्ट फिल्म एकेडेमीका सञ्चालक एबं चर्चित कलाकार सुनिल थापा लगायतको उपस्थिति रहेको थियो । तालिमकै दौरान कलाकार थापा दिक्तेल आइपुगेका हुन् ।