शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आन्तरिक आम्दानी आफै खर्च गर्न पाउनुपर्छ : जिसस महासङ्घ

आन्तरिक आम्दानी आफै खर्च गर्न पाउनुपर्छ : जिसस महासङ्घ

रोदिक खबर

२०, जेठ २०८१
  • 1.5K
    SHARES
  • आन्तरिक आम्दानी आफै खर्च गर्न पाउनुपर्छ : जिसस महासङ्घ

    खोटाङ। जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले जिल्ला समन्वय समितिमा उठेका आन्तरिक आम्दानी आफै खर्च गर्न पाउनुपर्ने नीति निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ । खोटाङको दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी हुन शनिबार खोटाङ आएका कोशी प्रदेशका १४ वटै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको भेलाले यस्तो निर्णय गरेको हो ।

    जिल्ला समन्वय समिति महासङ्घ नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपि)को संयुक्त आयोजनामा भएको भेलाले कोशी प्रदेशका सबै जिल्ला समन्वय समितिमा एक/एकजना आईटी अफिसरको व्यवस्था गर्नुपर्ने, जिल्ला समन्वय समितिमा उठेका आन्तरिक आम्दानी आफै खर्च गर्न पाउनुपर्ने, प्रदेश तथा सङ्घीय सरकारले समन्वय, अनुगमन र सन्तुलनलाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गर्न माग गर्ने, कोशी प्रदेशले बनाएका जिल्लासभा ऐन २०७५ मा जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यान्वयनको नीति तथा कार्यविधि बनाउन जिल्लासभालाई अधिकार दिन कानून परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    यस्तै, प्रदेश सरकारको जिल्लास्थित कार्यालयहरुको संयोजन गर्न जिल्ला समन्वय समितिलाई नेतृत्व दिन अनुरोध गर्ने, जिल्ला समन्वय समितिलाई बित्त आयोगले अनुदान उपलब्ध गराउन आवश्यक प्रकृयामा लैजान अनुरोध गर्ने, जिल्ला समन्वय समितिमा रहेका कर्मचारी दरबन्दी अधिकरुपमा खाली भएकाले यथाशीघ्र सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने लगायत नौँ बुदे निर्णय पारित गरेको हो ।

    कोशी प्रदेशका प्रमुख परशुराम खापुङको समेत उपस्थिति रहेको कार्यक्रममा संविधानसभा सदस्य एवम् कानूनविद् हरि रोकाले ‘नेपाली सन्दर्भमा सङ्घीयता’ विषयक कार्यपत्र पेश गरेका थिए ।

    सङ्घीयताको परिभाषा र औचित्य, पहिचानको पक्ष, राष्ट्रिय एकीकरणको जबरजस्त तरिका, सङ्घीयता र राजनीतिक पक्ष, सङ्घीयताको दृष्टिकोणबाट सरकार, सङ्घीयताको दृष्टिकोणबाट विकास, सङ्घीयता र समुदाय, तहगत सरकारको समन्वय, स्थानीय तहमा शासन पद्धति, प्रदेश संरचनाको आधार लगायतका विषय कानूनविद् रोकाले प्रस्तुत गरेका कार्यपत्रमा समेटिएको थियो । गोष्ठीलाई सम्बोधन गर्दै प्रदेशका प्रमुख खापुङले जनताले सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

    जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले शनिबार दिक्तेलमा आयोजना गरेको ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले प्राप्त अधिकारहरु कार्यान्वयन गर्दै जनताले प्रत्यक्षरुपमा सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिधिले काम गर्नुपर्ने बताए । प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति महासङ्घ नेपालले सम्मानसमेत गरेको छ ।

    दिक्तेलस्थित सोल्मामा आयोजित साकेला उँभौली कार्यक्रममा समेत सहभागी हुन दिक्तेल आउनुभएका प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति खोटाङले मायाँको चिनोस्वरुप वाबु ‘चिण्डो’ उपहार दिएको छ ।

    जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष कमल थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजन मेहता तथा पदाधिकारी, कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा समन्वय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    जिल्ला समन्वय समिति महासङ्घ नेपालले ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठी सातवटै प्रदेशमा आयोजना गरेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - ०८:२१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको