शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

देउले सामुदायिक वन

साल र सल्लाको रुख कटान गर्ने आठ जनालाई ३७ हजार ८४० रुपैयाँ जरिवाना

साल र सल्लाको रुख कटान गर्ने आठ जनालाई ३७ हजार ८४० रुपैयाँ जरिवाना

रोदिक खबर

२१, जेठ २०८१
  • 3.8K
    SHARES
  • साल र सल्लाको रुख कटान गर्ने आठ जनालाई  ३७ हजार ८४० रुपैयाँ जरिवाना

    खोटाङ । खोटाङमा सामुदायिक वनको साल र सल्लाको रुख कटान गर्ने आठ जनालाई जरिवाना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनबाट सालको ३७ वटा र सल्लाको २ वटा रुख कटान गर्ने स्थानीय योगेश राई, राजकुमार राई, धनकुमार राई, अनिस राई, बौधराम राई, बबिन्द्र राई, दइन्द्र भुजेल र टेम्माका जीवन राईलाई जरिवाना गरिएको हो ।

    देउले सामुदायिक वन उपभोक्ता समितिले उनीहरुलाई ३७ हजार ८४० रुपैयाँ जरिवाना गरेको हो । कल्चुडे आवादीदेखि दक्षिणतर्फको वनबाट बिना अनुमति सालको ६३.५३ क्यूबिकफिट र सल्लाको २०.२५ क्यूबिकफिट काठ कटान गरेको पाइएपछि समुहको विधान बमोजिम दण्ड जरिवाना गरिएको देउले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोष घिमिरेले बताए ।

    सामुदायिक वनबाट साल कटान भएको जानकारी आएपछि डिभिजन वन कार्यालयका अधिकृत छैठौं दिपेन्द्र मेहता र जनरल फरेष्ट्री विनोद गजमेरको टोली जेठ १७ गते घटनास्थल पुगेर नापजाँच गर्दै सर्जमिन मुचुल्का तयार पारेर फर्किएको थियो । कल्चुडेमा रागा पालनका लागि गोठ बनाउने क्रममा स्थानीयले बिना अनुमति सामुदायिक वनको साल र सल्ला ढालेका हुन् ।

    स्थानीयले खाली जग्गामा तीन वटा गोठका लागि पोल (खावा) ठड्याइसकेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले सय वटा राँगाभैंसी उपलव्ध गराउने आश्वसन दिएपछि गोठ बनाउन सुरु गरिएको स्थानीय बताउँछन् । तर बिना अनुमति रुख ढालेपछि उनीहरु जरिवानाको भागीदार बनेका हुन् ।

    विधि र विधान विपरित ढालिएका साल र सल्लाको काठलाई सामुदायिक वन उपभोक्ता समितिले नियन्त्रणमा लिएको छ । ऐन अनुसार नियन्त्रणमा लिइएको काठलाई लिलाम बिक्री गरिने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए ।

    उपभोक्ता समितिले कारबाही नगरेको हकमा मात्रै डिभिजन वन कार्यालयले हस्तक्षेप गरेर कारबाही गर्ने व्यवस्था रहेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताए ।

    यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भने रागाभैसी पालनका लागि कुनै बजेट विनियोजन नभएको बताए ।

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १९:५६:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको