खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि बुधबार गाउँपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
गाँउपालिकाभित्रका सबै १ सय ५६ जना बालबालिकाले सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र खनालले जानकारी दिए ।
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र संविधान सभा सदस्य दुर्गाजयन्ती राईले गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका थिए ।
नेपाल सरकारबाट निःशुल्क प्राप्त गरिने सबै प्रकारका खोप गाउँपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत दिएको छ ।
पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखाले वडाका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र उपलब्ध गराएको छ ।
कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा तथा दीगोपना कायम गर्नका लागि सामुहिक प्रतिवद्धतापत्र हस्ताक्षरसमेत गरेका छन् ।
नेपाल सरकारले लागू गरेको राष्ट्रिय कार्यक्रमलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धतासहित जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्था, नागरिक समाज, पत्रकार लगायतले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
गाँउपालिकाका अध्यक्ष समिर राईको सभातित्वमा भएकाे पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, गाउँपालिकाका उपाध्यक्ष गुरूराज राई, वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चम्लागांई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको जनाइएको छ ।
यस्तै, यसै अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ व्यस्थापन तथा केपिलासगढी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको रेडक्रसका हेल्थ अफिसर श्रेष्ठले जानकारी दिए।