शुक्रवार, भाद्र २६ गते २०८३

पर्यटन विकासमा खोटाङमा प्रदेश सरकारको योगदान

पर्यटन विकासमा खोटाङमा प्रदेश सरकारको योगदान

रोदिक खबर

३१, जेठ २०८१
  • 3.1K
    SHARES
  • पर्यटन विकासमा खोटाङमा प्रदेश सरकारको योगदान

    हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बनेको खोक्चीलिपा पार्क  । 

    कृष्ण आचार्य/खोटाङ

    खोटाङ । धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सार्ने र त्यसको कार्यान्वयनको प्रयास गर्ने गरेका छन् । कतिपय स्थानमा पर्यटनका माध्यमबाट राम्रै आय आर्जन पनि हुने गरेको पाइन्छ । तर, स्थानीय तहको एक्लो प्रयास र लगानीले मात्र पर्यटनको सम्पूर्ण विकास सम्भव हुँदैन । लगानी समेत पर्याप्त नहुन सक्छ । तर, संघीयता कार्यान्वयन गएसँगै प्रदेश सरकारबाट समेत सहयोग हुन थालेपछि कोसी प्रदेशका धेरै स्थानीय तहले पर्यटनलाई प्राथमिकता राखेर अघि बढिरहेको पाइन्छ ।

    स्थानीय तहको प्रयासमा कोशी प्रदेश सरकारले समेत होस्टेमा हैंसे थपिदिँदा अहिले खोटाङ जिल्लामा यसको सकारात्मक प्रभाव देखिन शुरु भएको छ । धेरै आन्तरिक र बाह्य पर्यटक पुग्ने मध्ये खोटाङ पनि अग्रपंक्तिमा पर्छ । पर्यटन प्रवद्र्धनमा प्रदेश स्तरबाट थप हुन जरुरी पनि देखिएको छ ।

    जिल्लाका विभिन्न ठाउँमा अवस्थित पर्यटकीय स्थलको पहिचान गरी तिनको पूर्वाधार निर्माणदेखि प्रचार प्रसार गर्ने काम भइरहेका छन् । तिनै मध्येको एक कोेशी प्रदेशकै चर्चित पर्यटकीय स्थल हो, हलेसी । ‘पूर्वको पशुपतिनाथ’ अर्थात् त्रि–धार्मिक तपोभूमि भनेर हलेसीले पहिचान बनाएको छ । यो धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थल पनि हो ।

    कोेशी प्रदेश सरकारले पर्यटकीयस्थल हलेसी क्षेत्रका विभिन्न ठाउँहरुमा संरचनाहरू निर्माण गरिरहेको हलेसीमा वार्षिक आन्तरिक तथा बाह्रय गरी तीन लाख ५० हजारको हाराहारीमा पर्यटक आउने गरेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी दिए ।

    हलेसी तुवाचुङ नगरपालिका र हलेसी महादेवस्थान विकास समितिमार्फत यी कामहरु भइरहेका छन् । हलेसी तुवाचुङ नगरपालिकामार्फत सल्ले पोखरी घेराबारा लगाउने काम पूरा भएको छ । कूल रु. एक करोड २५ लाख बराबरको काममध्ये पहिलो चरणमा रु. ६० लाखको कार्य सम्पन्न भइसकेको छ ।

    Salle pokhari1.jpg                         हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बनेको सल्लेपोखरी । 

    प्रदेशकै बजेटमा खोक्चीलिपा पार्क निर्माण कार्यमा रु. ४० लाख बराबरको काम भएको छ । बौद्ध धर्मावलम्वीहरुले दोस्रो बुद्धका रूपमा मान्दै आएका गुरु पद्मसम्वभले अमरत्व प्राप्त गरेको स्थानमा प्रतिमा निर्माणको काम भइरहेको छ । होलेसुङ पार्क निर्माणमा पनि ५० लाखको काम सम्पन्न भएको छ ।

    आ.व. २०८०/०८१ मा हलेसी महादेव मन्दिर परिसरमा करिब डेढ करोड रुपैयाँको लगानीमा हलेसी महादेव हवन कुण्डको निर्माण कार्य शुरु भएको छ । पर्यटन तथा वन वातावरण मन्त्रालयअन्र्तगत पर्यटन विकास आयोजना विराटनगरको आर्थिक सहयोगमा हलेसी महादेव हवन कुण्डको निर्माण कार्य शुरु भएको हो ।

    त्रि–धार्मिकस्थल हलेसीमा निर्माण कार्य शुरु भएको कुण्डको कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २२ बैशाख २०८१ मा शिलान्यास गरेका हुन् । रु. एक करोड ४४ लाख ८४ हजार ८९० को लागतमा काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा बासु कन्ट्रक्सन एन्ड सप्लायर्स सोलुखुम्बुलाई दिइएकोे हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले बताइन् ।

    Halesi Mahadev Hawan kunda Silanyash (Kedar Karki).jpgहलेसी महादेव मन्दिर परिसरमा निर्माण हुने हलेसी महादेव हवन कुण्डको शिलान्यास गर्दै  कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्की ।

    यसैगरी, हलेसी तुवाचुङ नगरपालिकाले कडा चट्टान नै चट्टानले ढाकिएको ककनी डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्ने उद्देश्यले निर्माणको काम भइरहेको छ । त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि नगरपालिकाले ढुङ्गे बगैँचा, सिढी, कफी हाउस, प्यारागोला लगायतका संरचना निर्माणको कार्य पूरा भइसकेको बताइएको छ । रक गार्डेनको संरचना प्रवद्र्धनमा प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त लगानी रहेको छ । यसका लागि यस वर्ष प्रदेश सरकारले रु.२० लाख विनियोजन गरी काम निर्माणको काम अगाडि बढेकोे छ ।

    यसका अतिरिक्त हलेसी क्षेत्रको एकीकृत विकास निम्ति छुट्टै हलेसी विकास समितिको गठन भएको छ । नगरपालिकाले पर्यटन प्रवद्र्धनकै लागि गुरुयोजना तयार पारिसकेको छ । हलेसी विकास समितिका कार्यकारी निर्देशक भुजेल भन्छन्,“गुरुयोजनाको कार्यान्वयन भइरहेको छ । यसमा प्रदेश र स्थानीय तह मात्र नभइ संघीय सरकारले समेत लगानी गरिरहेको छ ।”

    यस्तै, आ.व. २०७८/०७९ मा पर्यटन विकास आयोजना कोशी प्रदेश विराटनगरको सहयोगमा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ महादेवस्थानमा हलेसी मन्दिर पर्यटन क्षेत्रको पूर्वाधार निर्माण अन्र्तगत ३० लाखको लागतमा बसाहा गुफाभित्र पद मार्ग निर्माण गरिएको विकास समितिका कार्यकारी निर्देशक भुजेलले जानकारी दिए । हलेसी विकास समितिको निर्देशक भुजेलका अनुसार आब. २०७९/०८० मा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा १५ लाखको लागतमा तुवाचुङ पदमार्ग निर्माणको काम सम्पन्न गरिएको छ ।

    यलम्बर पार्क निर्माण

    खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ मा निर्माणाधीन यलम्बर पार्कको काम अन्तिम चरणमा पुगेको छ । किराँत ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरी रु. १४ करोड ५२ लाख ४८ हजार ३८९ रुपैयाँको लागत सहभागितामा किराँती प्रथम राजा यलम्बरको सय फिट अग्लो सालिक सहितको पार्क निर्माण कार्य पूरा हुने चरणमा पुगेको छ । “काम अन्तिम चरणमा पुगेको छ, यो क्षेत्रलाई धार्मिक पर्यटनका लागि बढावा दिने हाम्रो योजना रहेको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

    Yalambar Parka.jpegदिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ मा निर्माणाधीन यलम्बर पार्क ।

    नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचना तथा पार्कमा राखिने यलम्बर राजाको सालिकको काम समेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्स्ट्रक्सन प्रा.लि.का प्रबन्ध–निर्देशक सुनील राईले बताए ।” उनले भने,“पार्कमा स्थापना गरिने सय फिट अग्लो प्रथम किराँती राजा यलम्बरको सालिक निर्माण गर्ने काम सम्पन्न भईसकेको छ ।” निर्माणाधीन पार्कको भौतिक प्रगति ८५ प्रतिशत भइसकेको छ,”राईले भने–नगरपालिकाले ड्रोइङ डिजाइन उपलव्ध नगराउँदा छ महिनादेखि काम हुन सकेको छैन ।

    बुइपामा स्थापना गरिएको यलम्बरको पूर्ण कदको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने उनले दाबी गरे । निर्माणाधीन यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुड लगायतका सेवा उपलब्ध हुने दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण भइरहेको पञ्चदोबाटोको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।

    ३० रोपनीभन्दा बढी सरकारी जग्गामा निर्माण गरिएको पार्क व्यवस्थित तथा आधुनिक हुने जनाइएको छ । पञ्चदोबाटोमा निर्माणाधीन अवस्थामा रहेको यलम्बर पार्कमा राखिएको यलम्वरको मूर्तिसँगै जोडी वाबु (चिण्डो) ले संस्कार संस्कृतिको इतिहास झल्कनुका साथै धार्मिक तथा पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्न सक्ने स्थानीय सुमन राईले बताए ।

    यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै वडा नम्बर ६ नेर्पामा साकेला भिलेज पार्क निर्माणको काम भईरहेको छ । ४ करोड ५० लाखको लागतमा सम्पन्न गर्ने गरी तीव वर्ष अघि सुरु भएको पार्क निर्माण कार्यका लागि आर्थिक वर्ष ०७८/०७९ मा प्रदेश सरकारबाट ६५ लाख विनियोजन भएको छ भने नगरपालिकाबाट ६ लाख ४३ हजार विनियोजन भएको नगरले जनाएको छ ।

    त्यसैगरी, आव.०७९/८० मा प्रदेश सरकारबाट ६० लाख तथा नगरपालिकाबाट २५ लाख ७१ हजार विनियोजन भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारबाट ३० लाख र नगरपालिकाबाट १६ लाख १६ हजार बजेट विनियोजन भएको छ । साकेला पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    यस्तै, कालिका भगवती मन्दिर जाने रेलिङ सहितको बाटो र भगवती मन्दिरमाथि पट्टि पार्क निर्माणको काम सम्पन्न भइसकेको छ । पुराण लगाएको आम्दामीबाट धर्मशाला निर्माणको काम भइरहेको छ । यसको सञ्चालनको लागि प्रदेश सरकार समक्ष माग गरिएको र आश्वासन प्राप्त भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिए ।

    प्रदेश सरकारको लगानी सार्थक तुल्याउने हो भने हलेसी महादेवस्थानदेखि दिक्तेल रुपाकोट मझुवागढीसम्म केवलकारको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । प्रदेशमन्त्री पिके राई (पाँचकर्ण) भन्छन्,“हलेसी–रुपाकोट केवलकार चलाउन सक्दा हलेसी आइपुगेका जोकोही पर्यटक दिक्तेलसम्म आउने वातावरण बन्छ । स्थानीय तह वा निजी क्षेत्रबाट यति ठूलो योजना सम्पन्न गराउन सम्भव देखिँदैन ।”

    प्रदेश सरकारबाट थप रकम निकासा गरी भुलभुले दूधकुण्ड धामको स्तरोन्नति गर्दै वनभोज स्थलको व्यवस्था हुनसके प्रवेश गरेका पर्यटक अरु एक दिन दिक्तेलमा टिकाउन सकिन्छ । यतिले मात्र पनि यस क्षेत्रमा मनग्य आम्दानी हुन सक्छ । अन्ततः अनुभवी शेर्पा गाइडबाट रक क्लाईबिङको थालनी पनि भइसकेको छ ।

    थालनीकै बखत दुर्घटना भै एकजना युवकको ज्यान गएको हुँदा त्यसलाई निरन्तरता दिन सकिरहेको छैन । पर्यटकीय क्षेत्रलाई व्यवस्थित, सुरक्षित तथा वातावरणमैत्री बनाउन प्रदेश सरकारको अहमं भूमिका रहने भएकाले खोटाङमा पर्यटकको लागि अथाह सम्भावना बोकेको पर्यटकीयस्थलहरु धेरै भएकाले पूर्वाधारका निम्ति प्रदेश सरकारले लगानी गरिदिएमा जिल्लाकै विकासमा पर्यटनको योगदान हुनेछ । यसका लागि दिगो पर्यटन विकासको नयाँ सोँच आवश्यक छ ।

    प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - ०७:५७:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको