खोटाङ । बिग्रिएको सडक समयमै बन्न नसक्दा नियमित यातायात आवागमनमा समस्या झेल्दै आएका साकेला गाउँपालिकाबासीले जनश्रमदान जुटाएर साकेला भन्दा फरक स्थानीय तहमा पुगेर सडक मर्मत गरेका छन् । मंगलबार १५० जनाभन्दा बढी साकेला गाउँपालिकाबासी नागरिकहरुले छिमेकी स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ को लफ्याङ क्षेत्रको सडक श्रमदान मार्फत मर्मत गरेका हुन् ।

दिक्तेलबजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुईचुम्मा हुँदै जिल्लाको दक्षिणी भेगसम्म जोड्ने सो सडक खण्ड अन्तर्गत लफ्याङ क्षेत्रको सडक वर्षादको समयमा हिलोका कारण गाडी फस्ने, चिप्लने, भाँसिने समस्याले साकेलाबासी नागरिकहरु समस्या झेल्दै आएका छन् ।

गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा उपाध्यक्ष बिर्सिका राई, प्रवक्ता जीवन न्यौपाने खत्री, वडाध्यक्ष गोविन्द तामाङ लगायत निर्वाचित जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यवसायी, नागरिक समाज तथा स्थानीय नागरिकहरु जनश्रमदानमा सहभागी भएका थिए । जेसिवी, ट्रक, ट्याक्टर तथा अन्य हाते औजार सहित आएको टोलीले छाप्रिडाँडादेखि साप्सुखोला सम्म श्रमदान गरि बाटो बनाएका थिए ।
सो सडक समयमै निर्माण सम्पन्न नहुँदा साकेला गाउँपालिकासम्म खाद्यन्न लगायतका विभिन्न समाग्री ढुवानी गर्न समस्या भएको छ भने गम्भीर प्रकृतिका बिरामीहरुलाई उपचारका लागि लानलैजान समस्या हुँदै आएको छ । सो क्षेत्रमा बर्षेनी यात्रा गर्ने यात्रुहरुले हिलो र धुलोको सामना गर्दै आउनु परेको छ ।
प्राकृतिक रुपमा हुने नाकाबाट वर्षेनी मारमा पर्दै आएका साकेलाबासीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिका आफैले जनश्रमदान जुटाएर बाटो मर्मत गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । यो बाटो साकेला गाउँपालिकाबासीले मात्र प्रयोग गर्ने बाटो नभएर थुप्रै नागरिकहरु यो सडकको प्रयोग गर्नुहुन्छ, विशेष गरि खाद्यन्न लगायत विभिन्न समाग्रीहरु ढुवानी गर्न र सदरमुकाम दिक्तेलसम्म आवतजावतमा समस्या खेप्नु परिरहेको छ अध्यक्ष राईले भने जनश्रमदान गर्नु हाम्रो चुनौति होईन नगरपालिकालाई साकेलाले गरेको सहयोग हो ।
विविध समस्याले नगरले यो बाटो बनाउनु भएन, आशा छ यस सडकलाई सदावाहर मौसममा सहज रुपमा यातायात सञ्चालन हुने वातावरण नगरले तयार गर्नेछ–अध्यक्ष राईले भने आवश्यकता पर्दा हामी सहयोग गर्न तयार छौं । अन्य स्थानीय तह र तराईका जिल्लासँग जोड्ने दिक्तेल साप्सुखोला साकेला सडक अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ को लफ्याङ क्षेत्रमा वर्षेनी समस्या हुँदै आएको छ । जनश्रमदान मार्फत निर्माण गरिएको सडकले केही दिन भए पनि सहज यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जस्तो सुकै मौसममा पनि साकेला गाउँपालिकाभित्र निर्माण भएको सडकहरुमा समस्या छैन तर दिक्तेल क्षेत्रमा प्रवेश गरेपछि समस्या भोग्नुपरेको जनश्रमदानमा सहभागि हुन आउनु भएका नेकपा एमालेका नेता आश्विनचन्द्र राईले बताए । वर्षादको समयमा हिलो र हिँउदमा धुलोको समस्या झेल्दै आएको साकेलाबासी र अन्य नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै स्वतस्फुर्त जनश्रमदानमा आएको उनले बताए ।
अर्का एमाले नेता गोपिकृष्ण खड्काले यस सडकलाई नगरपालिका आफैले चासो दिएर निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । दुईवटा स्थानीय निकायले सहकार्य र समन्वय गरेर यस सडकलाई मर्मत सम्हार गर्नुपर्ने उनको धारणा छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले दिक्तेल साप्सुखोला करीव दश किलोमिटर यस सडकलाई असार अगावै नगरपालिकाले मर्मत गरेर यातायात सहज रुपमा सञ्चालन हुने वातावरण तयार गर्ने प्रतिवद्धता जनाए ।
हामीसँग भएको श्रोत र साधनलाई प्रयोग गरेर असार मसान्तभित्रै यो सडकमा सहज रुपमा यातायात सञ्चालन हुने वातावरण तयार गर्नेछौं तपाईहरु ढुक्क हुनुहोस् उपप्रमुख राईले बताए । हाम्रो क्षेत्रमा पर्ने यस सडकलाई हामीले नै निर्माण गर्नुपर्ने हो तर सिमित श्रोत र साधनको कारण यो सडक निर्माणमा पछि परेको उल्लेख गर्दै उपप्रमुख राईले यस वर्ष ढुक्कका साथ सहज यात्रा गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे ।


