खोटाङ । भारतीय सेनाका नायक नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ यही असार–२२ गते दिक्तेलमा लोकापर्ण गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मिएर भारतीय सेनाका नायक पदमा कार्यरत सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले लोकापर्ण गर्ने तयारी गरेको हो ।
परदेशी (लाहुरे) को प्रेम कहानी (लभ स्टोरी) मा आधारित २६४ पृष्ठ लामो उपन्यास परिबन्धनको सम्पादन दिनेश पौडेलले गरेका छन् । सर्जक नवराज राई ‘पल्टने’को श्रीमती मौसमी राईले प्रकाशनमा ल्याएको उपन्यास परिबन्धनमा प्रविन र अनु राईलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिएको छ ।
दिक्तेलस्थित शुभम् फाउण्डेशनमा आयोजना गरिने सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लाकोपर्ण तथा सिर्जना वाचनका बारेमा प्रतिष्ठानले सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको छ ।
जिल्लास्थित साहित्यिक सर्जकहरुले सिर्जना वाचन गर्नेसँगै लोकापर्ण गरिने उपन्यास परिबन्धनका बारेमा साहित्यकारहरु एमसी सुमित, बेदीकुमार राई र हेमबिक्रम राईले समीक्षा गर्ने प्रतिष्ठानले जानकारी दिएको छ ।
सोल्माका एउटा सामान्य परिवारमा जन्मनुभएका सजर्क नवराज राई ‘पल्टने’ले पहिलो प्रयासमै उपन्यास प्रकाशन गर्नु आफैमा गौरवको विषय भएको पत्रकार सम्मेलनमा सहभागी प्रगतिशील लेखक सङ्घ खोटाङका अध्यक्ष चित्र सुवेदीले बताए।सानो उमेर र जोखिमपूर्ण जिम्मेवारी रहँदा पनि यति राम्रो उपन्यास लेख्न सक्नु आफैमा गौरवको विषय भएको अध्यक्ष सुवेदीको प्रतिक्रिया छ ।
सर्जकको सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लोकापर्ण गर्ने जिम्मेवारी आफूहरुले लिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई ‘एक्ले’ले जानकारी दिए। “भारतीय सेनाजस्तो व्यस्त जागिरे व्यक्तिले उपन्यासजस्तो साहित्य सिर्जना गर्नु आफैमा ठूलो कुरा हो । सर्जकको सम्मान तथा नवप्रतिभालाई हौसला प्रदान गर्नु प्रतिष्ठानको मुख्य दायित्व हो”, उनले भने, “नवराज भाइले हिम्मत गर्नुभएको छ, उहाँको सम्मान तथा हौसलाका लागि उहाँको कृति लोकापर्णको बन्दोबस्त मिलाइएको हो ।”
पत्रकार सम्मेलनमा सहभागी सर्जक नवराज राई ‘पल्टने’ले सबैको साथ, सहयोग र हौसलाका कारण पहिलो कृतिको रुपमा उपन्यास ‘परिबन्धन’ प्रकाशन सफल भएको बताए । “यो मेरो पहिलो प्रयास हो । लेखन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको छु”, उनले भने, “आफ्नो देशका लागि केही दिन सकेको छैन ।
परदेशबाटै भएपनि साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्ने प्रयास निरन्तर जारी रहनेछ ।” दिक्तेलस्थित सोल्मा निवासी आमा प्रेमकुमारी र बुबा आइतबहादुर भनिने धुस्मन राईका जेठा छोरा नवराज राई ‘पल्टने’ दश वर्षअघि भारतीय सेनामा भर्ना भएका थिए ।
एलएलसी उत्तिर्ण गरेलगत्तै भारतीय सेनामा भर्ना भएका नवराज राई ‘पल्टने’ सोल्माको एउटा सामान्य परिवारमा वि।सं। २०५३ असार–२३ गते जजन्मिएका हुन् । भारतीय सेनामा भर्ना भएपछि कक्षा–१२ सम्मको औपचारिक शिक्षा लिनुभएका सर्जक नवराज राई ‘पल्टने’को श्रीमतीसहित दुई छोरी छन् ।
गाउँमा जन्मिएका एउटा युवा (नवराज राई) ले सानै उमेरमा साहित्य सिर्जना गरेर आफ्नो र गाउँको नाम उचो बनाएको पत्रकार सम्मेलनमा सहभागी सोल्माका वुद्धिजीविहरुले बताएका छन् ।