कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ र ओखलढुङ्गा सेमिफाईनल प्रवेश

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ र ओखलढुङ्गा सेमिफाईनल प्रवेश

रोदिक खबर

२१, आषाढ २०८१
  • 3.5K
    SHARES
  • कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ र ओखलढुङ्गा सेमिफाईनल प्रवेश

    खोटाङ । खोटाङको बुइपमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ र ईलाम सेमिफाईनल प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा  ओखलढुङ्गाले इलामलाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

    पहिलो दिन अर्थात बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बुलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाईनल पुगेको थियो । पहिलो दिनकै खेलमा ईलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राईब्रेकरमार्फत पराजित गर्दै अघि बढेको हो ।

    प्रतियोगिताको दोश्रो दिन शुक्रबार नै सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई शून्यका विरुद्ध एक तथा तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन्।

    जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश) ले जानकारी दिए ।

    कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

    प्रतियोगितामा विधागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैंयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष राईले बताए ।

    प्रतियोगिताको तेस्रो दिन अर्थात भोलि शनिबारको पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने तालिकामा उल्लेख छ ।

    प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गरेका थिए । प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिए ।

    प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको आयोजकले जनाएको छ ।

    चन्दा सङ्कलन तथा दाताको सहयोगमा विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको जिल्लामा पहिलो पटक प्रदेश खेलकुद विकास बोर्डको लगानीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

    जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको आयोजकले जनाएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - २२:०१:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको