खोटाङ । इन्डियन आर्मी नवराज राई 'पल्टने'को उपन्यास 'परिबन्धन' लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा घर भइ हाल भारतीय सेनामा कार्यरत राईको पहिलो कृति लोकार्पण गरिएको हो ।
टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङको आयोजनामा शनिबार शुभम फाउण्डेसनमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई, साहित्यकार एमसी सुमित, हेमबिक्रम राई लगायतले 'परिबन्धन' लोकार्पण गरेका हुन् ।
पूर्वी नेपालको पहाडी गाउँको प्रेम कथा बोकेको मर्मस्पर्शी कृति हो 'परिबन्धन' । दिनेश पौडेलले सम्पादन गरेको 'परिबन्धन' उपन्यासका बारेमा साहित्यकार एमसी सुमित र हेमबिक्रम राईले टिप्पनी गरेका थिए । उनीहरुले उपन्यासको विषयवस्तु प्रस्तुतीमा देखिएका कमिकमजोरी औंल्याएका थिए ।
१० वर्षदेखि भारतीय सेनामा कार्यरत राई हाल नायक पदमा कार्यरत छन् । आमा प्रेमकुमारी र बुबा आइतबहादुर राई (धुस्मन) को जेठा छोरा नवराज २०५३ असार २३ गते जन्मिएका थिए ।
वाल्यकालमा दुःख कष्ट खेपेर हुर्किएका राईले भारतीयभूमिमा बन्दुकसँग खेल्दा खेल्दै उपन्यास तयार पारेका हुन् । उनका श्रीमती र दुई छोरी छन् । वाध्यताले परदेशमा बसे पनि साहित्यको माध्यमबाट देशलाई योगदान दिने प्रयास स्वरुप उपन्यास लेखेको उपन्यासकार राईले बताए ।
टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगन एक्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्माका वडाध्यक्ष राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले शुभकामना दिएका थिए भने विभिन्न श्रष्टाले सिर्जना वाचन गरेर सुनाएका थिए ।