प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

रोदिक खबर

६, श्रावण २०८१
  • 2.4K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।

    प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिएका छन् । उनको विपक्षमा ७४ मत परेको छ ।

    नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले मत दिएनन् ।

    यस्तै, एक सांसद तटस्थ रहे । २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    संविधान संशोधनसिहत राजनीतिक स्थिरताको नारा दिएर संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री चयन भएका हुन् ।ओलीको दल एमाले संसद्को दोस्रो ठूलो दल हो ।

    यी दुई दलबीच असार १७ गतेको मध्यरातमा सातबुँदे सहमति भएको थियो । उनी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन् ।

    संविधानको सोही धाराको उपधारा ४ बमोजिम ओलीले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १९:०२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको