शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डुंगा चढ्नुपर्ने वाध्यता सँधैका लागि अन्त्य

डुंगा चढ्नुपर्ने वाध्यता सँधैका लागि अन्त्य

रोदिक खबर

१७, श्रावण २०८१
  • 2.6K
    SHARES
  • डुंगा चढ्नुपर्ने वाध्यता सँधैका लागि अन्त्य

    खोटाङ । बाईटार, बलुई, टारगाउँ लगायतका स्थानीय सदियौंदेखि डुंगाबाट सुनकोसी वारपार गर्दैआए । डुंगा चढेरै उनीहरुका कैयौं पुस्ता अस्ताए । अव उनीहरुले डुंगा चढ्नु पर्नेछैन । पुलबाटै कोसी वारपार सुरु गरेका छन् । प्रशंग खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको हो ।

    डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने पुल बनेपछि उनीहरुको डुंगा चढ्नुपर्ने वाध्यता सँधैका लागि अन्त्य भएको हो । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाखमा बाईटार–चिपटार जोड्ने पुल निर्माण गरिएको हो ।

    २०७८ कात्तिक २६ गते बनिसक्नु पर्ने पुल नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभी काठमाडौंको ढिलासुस्तीका कारण झण्डै तीन वर्ष ढिला सम्पन्न भएको हो । नेपाल फूलवारी–स्वर्णीम–अन्सुमनले ३० महिनामा सक्नेगरी २०७६ बैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको थियो । साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार डुंगाबाट नियमित नदी वारपार गर्दैआएका थिए ।

    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका स्थानीयले समेत शहरबाट ‘नुनदेखि सुन’ ल्याउन सोही घाट प्रयोग गर्दैआएका छन् । चरम ढिलासुस्तीकाबिच निर्माणाधिन पुलको टावर २०७९ चैत १० गते ढलेको थियो । उदयपुरतर्फको टावर ढलेसँगै पुलको काम वर्ष दिन ठप्प भयो ।

    पुलको काम अलपत्र भएको अवस्थामा प्रदेश सांसद भूपेन्द्र राईको दवावमा २०८० फागुन २९ गतेदेखि पुल निर्माणको काम सुचारु भएको थियो । पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई निरन्तर दवाव दिएपछि नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभीले साउन पहिलो साता पुल निर्माणको काम पुरा गरेको हो ।

    पुलको काम सकिएपछि साउन ६ गते सबै कामदार हिँडेको सुनकोसी प्रावि बाईटारका प्रअ बिशाल राईले बताए । प्रअ राईका अनुसार पुलको लट्ठा अडाउने खोटाङतर्फको बायाँ ब्लक नदीको भेलले भेट्ने ठाउँमा राखिएको छ । यस्तै, उदयपुरतर्फ पुलमा उक्लिने सिँढी बाईक हिँडाउन सकस हुनेगरी ठाडो बनाइएको छ ।

    प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - १८:५१:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको