हलेसीमा ‘बोलबम’ मेला शुरु

हलेसीमा ‘बोलबम’ मेला शुरु

रोदिक खबर

२१, श्रावण २०८१
  • 2.2K
    SHARES
  • हलेसीमा ‘बोलबम’ मेला शुरु

    विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला शुरु भएको आज तेस्रो हप्ता अर्थात तेस्रो (सोमबार) पनि उत्तिकैमात्रामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी मन्दिर ओहोरदोहोर गर्ने बाटोमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।

    साउनको पहिलो सोमबारबाट शुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् ।

    bolbam.jpgहलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चिनको तिब्बत लगायतका देशबाट दर्शनार्थी एवम् भक्तजन आएका छन् । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाएर पूजापाठ गर्ने प्रचलन रहेको हलेसी विकास समितिका अध्यक्ष गजुरमान राईले बताए ।

    मनोकांक्षा पूरा हुने जनविश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाएर पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । बोलबमको अवसरमा हलेसी आउने विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।

    पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ । बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटलहरु भरिभराउ भएका छन् ।

    साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको छ ।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - २१:५१:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको