साहित्यकार तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानका दुई कृति सादृश्य बिम्ब कथा संग्रह र लेखान्त नाटकको एकसाथ लोकार्पण गरिएको छ । आज (शनिवार) महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, लेखक तथा साहित्यकार प्रधान लगायतले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।
अक्षरधाम प्रकाशन प्रालिले बजारमा ल्याएको उक्त कृतिले समसामयिक विषयलाई समेटेको छ । लेखान्त नाटकमा वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको छ भने सादृश्य विम्ब’ कथा संग्रहमा सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित सामाजका विविध पक्षहरूलाई उजागर गरिएको छ ।
लामो समयदेखि साहित्यको क्षेत्रमा लाग्दै आएका साहित्यकार प्रधानले लोक, आधुनिक, पप र नेपाली चलचित्रका दर्जनौँ गीत सिर्जना गरेका छन् । साहित्यकार प्रधानका कृति लेखान्त नाटकको बारेमा साहित्यकार डा. भक्त राईले समिक्षात्मक टिप्पणी गरेका थिए भने कथा संग्रह सादृश्य बिम्बको बारेमा प्राज्ञ डा. मधुसूदन गिरीले टिप्पणी गरेका थिए ।
यस्तै, पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको बताउदै नेपाल प्रहरीमा साहित्य सिर्जना गरेर नेपाली साहित्यमा टेवा दिने प्रयास गरेको बताए । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारी बन्दुक र लाठी मात्रै बोक्दैनन् भन्ने उदाहरण कृतिकार प्रधानले पुष्टि गरेको बताए ।
अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथा सङ्ग्रहले प्रष्फुटित गरेको महानिरीक्षक कुँवरले उल्लेख गरे ।
अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।