खोटाङ । नेपाली कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गरेको छ ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम गर्ने २१ नगरपालिका र गाउँपालिकाका प्रमुखहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूले उत्कृष्ट स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरेका थिए ।
०७९ को निर्वाचनमा कांग्रेसले देशभरि ३२९ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो । तीमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहलाई बिहीबार सम्मान गरिएको हो ।आर्थिक वर्ष २०७९/०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेकालाई छनोट गरी सम्मान गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई सहित २१ स्थानीय तहका प्रमुखलाई कांग्रेसले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा काठमाडौंको नाजार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटालाई सम्मान गरिएको छ ।
यस्तै, इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा, चितवनको खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङलाई सम्मान गरेको छ ।
यस्तै, धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमना दनैलाई पनि सम्मान गरिएको छ ।
सिन्धुलीको ध्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन, हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाय, दैलेखको महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मालाई पनि सम्मान गरिएको छ ।