खोटाङ । सडक दुर्घटना बढ्दै जान थालेपछि प्रहरीले सडक ट्राफिक दुर्घटना सम्वन्धी डेमो प्रर्दशन गरेको छ । सडक दुर्घटना न्यूनीकरण र दुर्घटना भई हालेमा कसरी छिटो र छरितो ढंगबाट उद्दार गर्न सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले दिक्तेलको रत्नपार्कमा शुक्रवार सडक दुर्घटना न्यूनीकरण सम्वन्धी डेमो प्रर्दशन गरेको हो ।
नजिकिदै गरेको दसैँ, तिहार, छठ नेपाल संवत लगायतका चाडपर्वहरुलाई लक्षित गरी सार्वजनिक सवारी र सडकमा पर्ने चाप कारण दुर्घटनाका घटनाहरु धेरै हुने गरेकाले त्यसलाई न्युनिकरण गर्नका लागि जिल्लाका सबै सुरक्षा निकायको सहभागितामा सडक दुर्घटना न्युनिकरण सम्वन्धी डेमो प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोतम खड्काले जानकारी दिए ।
प्रनाउ खड्काका अनुसार डेमो प्रर्दशनीमा मोटरसाइकल र गाडी ठोकिएर दुर्घटना भएको काल्पिनिक दृष्य, दुर्घटनापछि घटनास्थलमा सुरक्षाकर्मी परिचालन, दुर्घटना पश्चात घाईतेहरूको उद्धार तथा प्राथमिक उपचार, स्थानीय एवम् आफन्तहरुको आक्रोश, प्रहरीद्वारा स्थानीयहरुको अनियन्त्रित भीड व्यवस्थापनर्, घटनाको मुचुल्का, मृतकको व्यवस्थापन, सवारी साधनको सुरक्षा र बिभिन्न निकायहरू बीच समन्वय, गाडी चालकलाई नियन्त्रण, घटनास्थलमा लडेका सवारी साधनहरु व्यवस्थापनपछि रोकिएका सवारी साधनहरु ट्राफिक प्रहरीद्धारा सुचारु लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नं. ७ गुल्म हलेसीका सुरक्षाकर्मीहरूले आफ्नो भुमिका निर्वाह गरेका थिए ।
डेमो प्रर्दशन गर्नु अघि दिक्तेलको रत्नपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की उद्घाटन गरेका थिए ।