खोटाङ, १३ असोज । भीषण बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल बगाएको छ । खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लाहरुसँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क ब्रिज पुल बगाएपछि तराईका जिल्लाहरुसँगको सिधा यातायात सेवा विच्छेद भएको हो ।
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा २०७९ सालमा निर्माण गरिएको मोटरेबल पुल असोज १२ गते आएको बाढीले बगाएको हो ।
ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते सम्झौता गरेको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल सम्पन्न गर्नका लागि सडकदेखि सदनसम्म चौतर्फी दबाब दिँदा उक्त पुल बन्न दश वर्ष लागेको थियो । तर, दुई वर्ष पनि उपयोग गर्न नपाउँदै बाढीले बगाएपछि खोटाङ्गेको समस्या ज्यूँका–त्यूँ भएको छ ।
पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजारको लागतमा निर्माण गरिएको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो ।
बाढीले पुल बगाएपछि जिल्लाको विकास धेरै पछाडि धकेलिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।
“जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । तर, पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो ।
यो खोटाङ्गे जनताका लागि दुःखको कुरा हो”, अध्यक्ष आचार्यले भने, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
देशभर जनधनको क्षति गर्नेगरी आएको अविरल वर्षापछिको बाढीले आर्क डिजाइनको फोक्सिङटार पुल बगाएपछि निर्माणको जिम्मा लिने ठेकेदार कम्पनी तथा राजनीतिक दलका नेताहरुको ब्यापक आलोचना शुरु भएको छ ।
निर्माण गर्नुअघि ठेकेदारसँगको मिलेमतोमा गलत डिजाइन गरेर कमसल किसिमको मोटरेबल पक्की पुल बनाइएकाले बाढीले बगाएको उनीहरुको आरोप छ ।