शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने

हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने

रोदिक खबर

६, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम खेती प्रवद्र्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि कृषकहरु उत्साहित भएका छन् ।

    रैथाने बाली प्रवद्र्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रम अन्तरगत बदाम खेती गर्ने कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने कृषकलाई प्रतिमुरी ५०० का दरले दुई हजार ५०० तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० का दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।

    नगरपालिकाको अधिकांश भू–भागमा उत्पादन हुने बदाम खेलीलाई प्रवद्र्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख विमला राईले बताइन् । “बदाम बिक्रीबाट नगरपालिकाका कृषकले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् ।

    कृषकले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्रान्डिङ गर्ने योजना छ । अहिले व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजाने गरेका छन्”,उनले भनिन्, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदाम खेती प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ, यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ नगर प्रमुख रार्यले भनिन्, बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं.–८ धितुङ, वडा नं.–५ दुर्छिम वडा नं.–२ डिकुवामा सबैभन्दा बढी बदाम खेती लगाउने गरिएको छ । वडा नं. १ बाहुनीडाँडा, वडा नं.–३ च्यास्मिटार, वडा नं.–७ महादेवस्थान, वडा नं.–११ राजापानी लगायतका ठाउँमा पनि आंशिक मात्रामा बदाम खेती लगाउने गरिएको छ ।

    मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं.–८ धितुङमा सबैभन्दा बढी बदाम खेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०/२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यो वर्ष ७०० मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ ।

    नगरपालिकाका कृषि शाखाको तथ्याङ्क अनुसार करिब २०० घरधुरी कृषकले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् । नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ ।

    आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको ३८ लाख ३८ हजार ८३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एवम् वडा नं.–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    हलेसी क्षेत्रका कृषकले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गा लगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदाम खेती हुँदै आएको छ ।

    विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम कृषकको घरबाटै प्रति पाथी २७० देखि ३०० सम्ममा बिक्री भइरहेको जनाइएको छ ।

    कृषकबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारहरुमा ३५० देखि ४०० सम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए । जापानी नागरिक कोतोबुकीनाकाले वि.सं. २०७४ सालमा वडा नं. ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर, सो पिनट्स बटर उत्पादक उद्योगले लोकल ९स्थानीय जात०का बदाम मात्रै खपत गर्ने गरेको कृषकहरुले बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १२:३४:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको