खरिद गरेको १९ वर्षपछि १८ रोपनी जग्गा र खानेपानी मुहान वडा कार्यालयको नाममा पास

खरिद गरेको १९ वर्षपछि १८ रोपनी जग्गा र खानेपानी मुहान वडा कार्यालयको नाममा पास

रोदिक खबर

७, कार्तिक २०८१
  • 4.5K
    SHARES
  • खरिद गरेको १९ वर्षपछि १८ रोपनी जग्गा र खानेपानी मुहान वडा कार्यालयको नाममा पास

    खोटाङ, ७ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खरिद गरेको १९ वर्षपछि जग्गासहितको खानेपानी मुहान वडा कार्यालयको नाममा पास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा खानेपानी लैजाने गरि २०६२ सालमा खरिद गरिएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सहरबोटे मुहान वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको हो ।

    तत्कालिन दुई गाबिसको कार्यालयबाट बिनियोजन गरिएको बजेटमा खरिद गरिएको १८ रोपनी खेतसहितको मुहान नगरपालिकाको पहलमा कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको छ ।

    बेदमायाँ राउतको नाममा रहेको जग्गा सहितको मुहान २०६६ चैतमा बडहरेका केसीराज मगर र भुमीराज राईको नाममा पास गरिएको थियो ।

    दशकौंसम्म व्यक्तीको नाममा राखिएको मुहानलाई जिल्ला मालपोत कार्यालयमार्फत जनताको नाममा नामसारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताईन् ।

    मालपोत कार्यालयले नगरप्रमुख राईलाई हस्तान्तरण गरेको लालपुर्जा नगरप्रमुख राईमार्फत च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राई र बडहरेका वडाध्यक्ष किशोर बस्नेतलाई हस्तान्तरण गरिएको छ ।

    बडहरे र च्यास्मीटारमा खानेपानी विस्तारका लागि २०६५ सालमा सुरु गरिएको सहरबोटे खानेपानी योजना २०७० माघमा पुरा गरिएको थियो । सोही योजना सञ्चालनका क्रममा राउतबाट खरिद गरिएको मुहान र जग्गा व्यक्तीको नाममा पास गरिएको थियो ।

    ८१ लाखमा २०७० सालमा सञ्चालनमा ल्याइएको सहरबोटे खानेपानी योजना मर्मत सम्भार अभावमा बन्द भइसकेको छ । सहरबोटे मुहानलाई पुःन नयाँ योजनाका रुपमा सञ्चालन गर्न बजेट व्यवस्थापन गरेसँगै मुहान र जग्गालाई वडा कार्यालयको मातहतमा ल्याइएको नगरप्रमुुख राईले बताईन् ।

    नगरप्रमुख राईका अनुसार सहरबोटे मुहानलाई व्यवस्थित तरिकाले पुःन च्यास्मीटार र बडहरे लैजानका लागि इमी नामक संस्थासँग प्रकृया अघि बढाइएको छ ।

    सहरबोटे मुहानको पानीलाई १ करोड ८२ लाखमा एक लिफ्ट गरेर च्यास्मीटार र बडहरे लैजाने योजना बनाइएको छ । सहरबोटे मुहानको पानी लैजाने प्रकृया चालु आर्थिक वर्षबाटै सुरु हुने नगरप्रमुख राईले जानकारी दिएकी छन् ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - २२:१५:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको