साकेला । खोटाङको साकेला गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा लगाईएको ताला शुक्रबार खोलिएको छ । गाउँपालिकाको कार्यालयमा आन्दोलनरत पक्ष र गाउँपालिकाको तर्फबाट बसेको छलफलले अमेरिका गएका वडाध्यक्ष अर्जुन कुमार कटवालको सम्बन्धमा कार्यालयको तर्फबाट थप आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई पहल गर्ने सहमति जुटेपछि बुधवार लगाइएको ताला खोलिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई र आन्दोलनरत पक्षबीच भएको फोन वार्ता पश्चात तत्कालै निर्वाचित वडाध्यक्षको विषयमा प्रकृया सुरु गर्ने सहमती जुटेपछि कार्यालयमा लगाईएको ताला खोल्ने सहमती भएको हो ।
सहमती पत्रमा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई तथा आन्दोलनरत पक्षको तर्फबाट संयोजक कृष्णप्रसाद भट्टराई, राजनीतिज्ञ गोपिकृष्ण खड्का, प्रहरी प्रशासनको तर्फबाट वरिष्ठ प्रहरी नायव निरिक्षक सुरेश लामा सहित राजनैतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
लामो समयदेखि वडाध्यक्ष बिहिन उक्त वडाका अध्यक्ष कटवाललाई अमेरिकाबाट फर्किएर वडाबासीको काममा लाग्न र उनि निर्वाचित नेकपा माओवादी केन्द्रको नेतृत्व मार्फत अध्यक्षलाई फर्काउने वातावरण तयार गर्न गाउँपालिका अध्यक्ष राईले पटक–पटक पहल र ताकेता गर्दै आएका थिए ।
वडाध्यक्षले जनभावना अनुसार काम नगरेको भनि वडाबासीहरुको जनगुनासो आईरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट निर्वाचित वडाध्यक्षको सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउनका लागि पहिला देखि नै कानूनविद, निर्वाचन आयोग, जिल्ला प्रशासन, जिल्ला समन्वय सहित सम्बन्धित निकायमा बुझ्ने काम भईरहेकै थियो,यही क्रममा सम्बन्धित पार्टीको तर्फबाट वडाध्यक्ष दशैंसम्म कार्यक्षेत्रमा फर्कनुहुन्छ आवश्यक प्रकृया रोकिदिन अनुरोध भए बमोजिम अहिलेसम्म प्रकृया अघि बढाईएको थिएन, गाउँपालिका अध्यक्ष राईले भने– अब वडाध्यक्षको विकल्पको लागि विधि र कानून बमोजिम कार्यालयको तर्फबाट प्रकृया अघि बढ्छ ।
वडा अध्यक्षको विकल्पमा नागरिकहरुको समस्या समाधान गरि सहजता प्रदान गर्नका लागि गाउँ कार्यपालिकाको वैठकले जेष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने गरि निर्णय गर्दै आएको थियो ।
विभिन्न मितिमा तीन पटक सम्म कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको रुपमा खड्कालाई जिम्मेवारी दिएको भए पनि पछिल्लो पटक गत भदौ २३ गतेदेखि थप गरेको म्याद समेत असोज २२ गते सकिएपछि वडाबाट दैनिक रुपमा हुने प्रशासनिक र विकासका कार्यहरु प्रभावित बन्दै आएको निष्कर्ष निकालेर वडाको स्थायी समस्या समाधानका लागि दबाव दिने उद्देश्यले वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको सर्वदलीय समितिले जनाएको छ ।
वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएको र वडाबाट दैनिक रुपमा सम्पादन गर्नुपर्ने विकास निर्माण, प्रशासनिक र सेवाग्राहीको काम रोकिएर सेवाग्राहीले दुःख पाएको भन्दै सर्वदलीय निर्णयपछि वडा कार्यालयमा तालावन्दी गरिएको थियो । नौ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको थियो ।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईकै संयोजकत्वमा वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाईएको समितिले वडाध्यक्ष कट्वाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो । तर, वडाध्यक्ष अल्टिमेटम कटेर महिनौ बित्दा पनि वडा नफर्केपछि अन्ततः ताला लगाउन बाध्य भईएको पूर्ववडाध्यक्ष भट्टराईको भनाई थियो ।
अमेरिका छिरेका वडाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । उनै माओवादी पार्टीका नेता कार्यकर्ता पनि वडाध्यक्षको विरोधमा ताला लगाउनमा सहभागी भएका थिए । माओवादीसँगै, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर वडामा तालाबन्दी लगाएका थिए ।
कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए । त्यसबेला चार वडा सदस्यलाई १५–१५ दिनको कार्यबाहकको जिम्मेवारी दिएका थिए । श्रोतका अनुसार वडाध्यक्ष कट्वाल दशैंमा पनि वडा नफर्केपछि उनी अमेरिकामै बस्न पिआरको प्रक्रियामा रहेको बताईएको छ ।