खोटाङ । अन्तर मावि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती मावि दिक्तेलमा अध्ययनरत विनिता गिरी प्रथम भएकी छन् ।
चक्र–अन्जु राई फाउण्डेसन बाम्राङले आफ्नो तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा आयोजना गरेको प्रतियोगितामा गिरी प्रथम भएकी हुन् ।
पञ्च मावि दिक्तेलमा अध्ययनरत नम्रता दाहाल दोश्रो, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रेमकुमार पुरी तेश्रो र सिमपानी मावि सिमपानीका डेविट घिमिरे चौथो भएको फाउण्डेसनका अध्यक्ष लिलाबहादुर खत्रीले जानकारी दिए ।
सावित्रा मावि बाम्राङमा सोमबार भएको प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमशः दश हजार, सात हजार, पाँच हजार र दुई हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
‘विपद व्यवस्थापनमा नागरिकको भूमिका’ शीर्षकमा भएको बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा काजीप्रसाद खतिवडा, नईन्द्रकुमार खत्री र पार्जुन राई थिए । १८ माविबाट एक–एक जनाले बक्तृत्वकलामा भाग लिएका थिए।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङकी पुर्व उपप्रमुख गोमा दाहाल,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष महेन्द्र कुमार राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, कार्यपालिका सदस्य मिना कार्की, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा सदस्य रेखा रम्तेल, नेपाल पत्रकार महासंघ खोटाङका सह सचिव चिसाङ शेर्पा लगायतकाे उपस्थिति रहेको थियो ।