उदयपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले सरकारले दुईतिहाईको दम्ब देखाउन नहुने बताएका छन् ।
उदयपुरको सदरमुकाम गाइघाटको विपी चौकमा निर्माण गरिएको जननायक स्व. विश्वेश्वर प्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै डा. कोइरालाले सरकारको सय दिनले कुनै उत्साह जगाउन नसकेको बताएका हुन् ।
संविधान संशोधन गर्नेे हो भने सरकारले दुईतिहाईको दम्व देखाएर मात्र हुँदैन नेता कोइरालाले भने अन्य विपक्षी दलहरुसँग पनि समन्वय गर्न जरुरी छ ।
देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा गुज्रिएको उल्लेख गर्दै कांग्रेससँगको गठबन्धनबाट बनेको दुईतिहाईको सरकारले देशमा सुशासन र न्यायको पक्षमा काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो।
अहिले देशमा जताततै भ्रष्टाचार र बेथिति मौलाएको बताउँदै नेता कोइरालाले देश अत्यन्त गम्भीर अवस्थामा पुगेको जिकिर गरे।
देशका सबैभन्दा ठूला दल मिलेर बनेको दुईतिहाई बहुमतको सरकारलाई राम्रोबाहेक नराम्रो कुनै काम गर्ने छुट नभएको बताउँदै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले ‘भ्रष्टाचार आफू नगर्ने र गर्न पनि नदिने’ भन्ने अभिव्यक्ति झुटो साबित भएको बताए ।
कोइरालाले कांग्रेससहितको सरकारबाट यस्तो अपेक्षा नगरेको बताउँदै सत्ता गठबन्धन गर्दा गरेको ७ बुँदे साझा कार्यक्रम कार्यान्वयन भए/नभएको भन्नेबारे लेखाजोखा गर्ने बेला आएको पनि उल्लेख गरे।
सरकारले अघि सारेको संविधान संशोधनको प्रशंग उठाउँदै कोइरालाले त्यसका लागि सबै राजनीतिक दलसँग छलफल र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
संविधानजस्तो विषयमा सुधार या हेरफेर गर्ने कुरा सबै दलहरुसँगको छलफल र बहसबाट मात्र सम्भव हुने भन्दै कांग्रेस र एमालेले मात्र चाहेर त्यो काम सम्भव नहुने उनको तर्क थियो।
नेता कोइरालाले सत्ता साझेदार भए पनि एमाले र कांग्रेस नै चुनावी प्रतिस्पर्धी रहेको बताए। ‘हामी दुई ठूला दल मिलेर सरकार चलाइरहेका छौं’ उनले भने ‘तर, यो उपनिर्वाचनदेखि आउँदो ०८४ को स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा पनि प्रतिस्पर्धा कांग्रेस र एमालेबिच नै हो।’
सरकारमासँगै रहे पनि हिजो पनि प्रतिस्पर्धी रहेको कांग्रेस र एमालेबिच आज र भोलि पनि प्रतिस्पर्धी नै रहने कोइरालाको भनाइ थियो।
प्रतिस्पर्धी रहेपनि उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले भने एमालेसँग समन्वय गरेर जानुपर्ने बताए।
‘सत्ता साझेदार भएको नाताले जनप्रतिनिधिले समन्वय गरेर अघि बढ्नुपर्छ तर, पार्टीका नेता कार्यकर्ताले भने प्रतिस्पर्धा गरेर जानुपर्ने हुन्छ’ उनको भनाई थियो।
कांग्रेसलाई बलियो र सक्षम बनाउन संगठन निर्माण र आचरणमा सुधार गर्नु आवश्यक रहेको भन्दै कोइरालाले नेतृत्वको गलत चरित्रको आलोचना गर्न पनि आग्रह गरे।
पार्टी सुधार्न नेताहरुको गलत रवैयाको कार्यकर्ताहरुले खुलेर आलोचना र सुझाव दिनुपर्ने बताउँदै उनले नेतृत्वले जे गरे पनि चुपचाप सहने कार्यकर्ताले तानाशाही प्रवृत्ति बढेको जनाए।
संस्थापन इतर नेताको परिचय बनाइसकेका कोइरालाले १५ औं राष्ट्रिय महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकाङ्क्षा घुमाउरो पाराले प्रकट गरे।
तर, एक वर्षपछि गर्नुपर्ने महाधिवेशन समयमै हुनेमा शंका व्यक्त गर्दै कोइरालाले प्रश्न गरे ‘के अबको एक वर्षमा हामी महाधिवेशन गर्न सक्छौं त ?
महाधिवेशन समयमै गराउन नेता कार्यकर्ताले नेतृत्वको ध्यानाकर्षण गराउन र गलत कुराको स्वास्थ्य आलोचना तथा उचित सल्लाह दिन पनि नेता कोइरालाले आग्रह गरे।उनले आफूलाई विपक्षी दलभन्दा आफ्नै पार्टीका नेता कार्यकर्तासँग डर लाग्ने गरेको उल्लेख गरे।
आफू समर्थक कांग्रेसीहरुलाई ढाडस दिँदै नेता कोइरालाले कसैलाई हताश र निराश नहुन आग्रह गरे। ‘म तपाईंहरुको भावना, चाहना र अठोटलाई त्यसै मर्न दिन्न’ समर्थकलाई ढाडस दिँदै कोइरालाले भने ‘तपाईंहरु कोही निराश नहुनुस्, म अन्याय हुन दिन्न। मैले राम्ररी नेता कार्यकर्ताको भावना बुझेको छु, ढुक्क हुनुहोस्।’
कोइरालाले संस्थापक नेता बिपी कांग्रेसको मात्र नभएर सिङ्गो मुलुकको धरोहर र विश्वले चिनेको राजनीतिक व्यक्तित्व रहेको बताए।
उनले बिपीले देखाएको बाटो र प्रतिपादन गरेको सिद्धान्त अनुसार लाग्न सके मुलुक समृद्ध र जनता सुखी हुने कुराप्रति आफू विश्वस्त रहेको सुनाए।
कार्यक्रममा केन्द्रीय सदस्य राजिव कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश महामन्त्री उमेश थापा, उदयपुर उपसभापति भीमचन्द्र राई, क्षेत्रीय सभापति द्वय खगेन्द्र राई र रामकुमार खत्री, पुर्व क्षेत्रीय सभापति तथा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत, उदयपुर २ (क) का प्रदेश सभापति सरोज बस्नेतलगायत नेताहरुले सम्बोधन गरेका थिए।