महान्यायाधिवक्ता रमेश बडालले जिल्ला कारागार खोटाङको निरीक्षण गरेका छन् ।
बुधबार साँझ बडालले जिल्लाका सुरक्षा प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख तथा वैतानिक कानून व्यवसायीसहित कारागारको अवस्था, कैदीको हक अधिकार र सुधारका लागि उठाइएका मुद्दाहरूको वारेमा जानकारी लिएका थिए ।
कारागारको निरीक्षणपछि कैदीबन्दीलाई गुनासो राख्न आग्रह गरेका महान्यायाधिवक्ता बडालसामू कैदीबन्दी डम्बर बहादुर कार्कीले कैदीबन्दीले बर्खामा खोलाको धमिलो पानी पिउनुपर्ने, अदालत/अस्पताल टाढा भएको, अस्पताल/अदालत जानआउन गाडीको व्यवस्था नहुँदा महिनौ कुजिएर बसेकालाई हिड्न गाह्रो हुने गरेको, बर्खामा पानीले भिजाउने गरेको, अधिकांश मुद्दाहरु उच्च र सर्वोच्च पुग्दा पनि जिल्लाकै सदर हुने गरेको लगायतका गुनासो राखेका थिए।
कैदीबन्दीको गुनासो सुनेपछि बडालले कारागार जीर्ण भएकाले त्यसको मर्मत तथा पुननिर्माण गर्नुपर्ने र खोलाबाट तानेर ल्याएको खानेपानीमा समस्या भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।
‘कारागारका लागि महान्यायाधिवक्ताको कार्यालयले गर्नुपर्ने काम हामी गर्छौ। सम्बन्धित निकायबाट गर्नुपर्ने कामहरुमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनेछु,’ महान्यायाधिवक्ता बडालले भने।
कैदीबन्दीको मानव अधिकारको स्थिति हेर्ने र कैदीबन्दी जीवनभित्र गर्नुपर्ने यथोचित व्यवहार भएको छ/छैन भन्ने जिम्मेवारी अन्तर्गत कारागारको निरीक्षण गरिएको बडालको भनाई छ। उनले आजै जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको पनि निरीक्षण गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालय समाजमा अपराध भईसके पछाडि अपराधलाई नियन्त्रण गर्न मुद्दा दायर गर्ने, अभियोजन गर्ने र सरकारकातर्फबाट प्रतिरक्षा गर्ने महत्वपूर्ण संवैधानिक अंग हो।
जिल्ला कारागारमा १११ जना पुरुष कैदी, दुईजना महिला कैदी र ४७ जना वन्दी पुरुष रहेका छन्।