हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

रोदिक खबर

७, मंसिर २०८१
  • 2.2K
    SHARES
  • हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागी, उद्घाटन गर्न मन्त्री आउँदै

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा १७ टिम सहभागि हुने भएका छन् । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन १७ टिमले नाम दर्ता गरेको बताइएको छ ।

    “मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि १ लाख बढी रहेको छ । जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक हो । खोटाङसँगै ओखलढुंगा र भोजपुरका टिमहरुले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए । खेल तालिका शुक्रबार सार्वजनिक हुनेछ ।

    प्रतियोगिता मङ्सिर ८ गते शनिबारबाट हलेसीस्थित बसाहथान खेलमैदानमा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि मन्त्री राई शुक्रबार नै हलेसी आइपुग्ने सचिवालयले जनाएको छ ।

    मङ्सिर ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १० हजार १११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले ५५ हजार ५५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलिस्ट २ टिमलाई नगद २२ हजार २२२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् ।

    यस्तै, विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिको म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको नगरप्रमुख राईको भनाइछ ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ०७:५१:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको