दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास

दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास

रोदिक खबर

७, मंसिर २०८१
  • 2.3K
    SHARES
  • दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास

     खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । साँढे १७ करोडमा निर्माण हुने मोटरेबल पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका हुन् ।

    मन्त्री राईले शिलान्यास गरेको पुलले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिका–५ पौवासेरालाई जोड्ने छ । चिसापानी–देविस्थान–मैनटार–पौवासेरा सडकखण्ड लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ । मैनटार र पौवासेराको सिमानामा पर्ने बुँवाखोलामा पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुने गरेको छ । हरेक वर्ष यातायात ठप्प गराउने बुवाँखोलामा मोटरेबल पक्की पुल बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

    प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजित बजेटले बुँवा खोलामा १४८ मिटर लम्बाई भएको मोटरेबल पक्की पुल निर्माण गर्न लागिएको हो । मूल्य अभिवृद्धि कर तथा पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७२९ मा सम्पन्न गर्ने गरि जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले बुवाँखोला मोटरेबल पक्की पुल निर्माणको ठेक्का लिएको छ ।

    वि.स २०८३ कात्तिक–२१ गतेसम्ममा सक्ने गरि ०८१ वैशाख–३० गते पुलको ठेक्का सम्झौता भएको कोशी प्रदेश सरकार अन्तरगत रहेको पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।

    पुल शिलान्यासपछि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गदै कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तोकिएकै समयमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्रालयले पुल निर्माणमा गर्नु पर्ने सबै सहयोग गर्न तयार रहेको बताउदै मन्त्री राईले समयमै पुल निर्माण गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

    मोटरेबल पक्की पुल शिलान्यास कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवङ्शी, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख अरुणादेवि राई लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १३:३३:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको